पोखरा । पोखरा–७, मासबारस्थित मदरल्याण्ड माविले शुक्रबार रक्तदान कार्यक्रम आयोजना गरेको छ । विद्यालयको नेपाल जुनियर रेडक्रस सर्कलले रेडक्रस कास्कीसँगको संयोजनमा विद्यालयमा आयोजना गरेको रक्तदानमा १ सय ९४ यूनिट रगत संकलन भएको थियो ।

सामाजिक उत्तरदायित्व निर्वाह गर्नका लागि विद्यालयले रक्तदान कार्यक्रम आयोजना गरेको विद्यालयका प्राचार्य डा. नारायण बरालले जानकारी दिए । उनका अनुसार विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थी सहित शिक्षक, कर्मचारी, अभिभावकले रक्तदान गरेका थिए ।

‘विद्यालयले यसअघि पनि वर्षेनीजसो रक्तदान कार्यक्रम आयोजना गर्दै सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको छ,’ प्राचार्य बरालले भने, ‘रक्तदान जीवन दान हो । विद्यालयमा संकलित रगतले कोही न कोहीको जीवनलाई बचाउन मद्दत गर्नेछ ।’ विद्यार्थीलाई समाज र राष्ट्रप्रतिको योगदान बुझाउनका लागि पनि यो कार्यक्रम महत्वपूर्ण रहेको उनले बताए ।

पोखरा महानगरपालिका–७ का अध्यक्ष राममोहन आचार्यले कार्यक्रमको शुभारम्भ गरेका थिए । समाजमा शिक्षाको माध्यमबाट योगदान गरिरहेको विद्यालयले रक्तदान कार्यक्रम गरेर थप योगदान दिएको उनले बताए । ‘अस्पतालमा उपचारको क्रममा छट्पटिएको बिरामीलाई जीवन दिन विद्यालयका विद्यार्थीको रगत उपयोग हुनेछ । यो नै सबैभन्दा ठूलो योगदान हो,’ उनले भने, ‘एकजना विद्यार्थीको रगतले कोही कसैको जीवन जोगिनेछ ।’

रेडक्रस कास्कीका पूर्व सभापति डण्डुुराज शर्माले विद्यालयले समाज र राष्ट्रका लागि रगतमार्फत योगदान दिएको बताए । विद्यालयका प्लस टु इन्चार्ज नारायण आचार्यले रक्तदानको महत्व आफैमा हुँदाहुँदै यसले अरुको जीवन बनाउन पनि सघाउने बताए ।

‘एकजनाको रगतले कसैको जीवन बाच्छ भने यो सबैभन्दा महत्वपूर्ण दान हुनेछ,’ उनले भने, ‘कसैको जीवनलाई बचाउनका लागि हरेक यूनिट रगत उपयोग हुनेछ ।’ विद्यालयका विद्यार्थीलाई रक्तदानको महत्व पनि यो कार्यक्रमले बुझाउने उनले बताए । ‘रगत दान गर्दा शरीरलाई हानी हुँदैन भन्ने चेनता बुझाउन पनि यसले सघाउनेछ,’ उनले भने । आगामि दिनमा पनि विद्यालयले सामाजिक उत्तरदायित्व निभाउने क्रममा रक्तदान कार्यक्रम आयोजना गर्दै जाने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0