पोखरा । फागुन २१ गते हुने निर्वाचनमा नेकपा एमालेबाट प्रतिनिधि सभा कास्की क्षेत्र नं. १ का उम्मेदवार रहेका वैन बहादुर क्षेत्री अधिकारीको मतदाता भेटघाट र अन्तरक्रिया कार्यक्रम जारी रहेको छ । सोमबार पोखरा महानगरपालिका वडा नं. १४ मा केन्द्रित गरिएको कार्यक्रम मङ्गलबार भने मादी गाउँपालिकामा हुने भएको छ । मादी गाउँपालिका वडा नं.१ सिक्लेस, सोधा र पार्चे, वडा नं. ६ को तप्राङ, भेडीखर्क, चिप्ली तथा वडा नं. ७ को थाक, खतेडाँडा, छाचोक, सबि लगायतका ठाउँमा भेटघाट र अन्तरक्रिया कार्यक्रम हुने बताइएको छ ।
मतदाता भेटघाट र अन्तरक्रिया कार्यक्रममा उनले जनताका आवश्यकतालाई सुन्ने र टिपोट गर्ने गरेका छन् । कास्की १ का सडक, विद्यालय, स्वास्थ्य, सिँचाइ लगायतको समस्या बारेमा थाहा पाएका उम्मेदवार भएकोले आफूहरूका समस्या सम्बोधन हुने आशा मतदाताले गर्ने गरेका छन् ।
उम्मेदवार क्षेत्रीले सोमबार पोखरा–१४ का खाल्टेमसिना, भोटेचौतारा, काजीपोखरी, चाउथेलगायत प्रमुख बस्तीसहित उक्त वडाका करिब २० वटा टोलमा पुगेर मतदातासँग भेटघाट र अन्तरक्रिया गरेका थिए ।
उनले आफू जिल्ला समन्वय समिति कास्कीको प्रमुख हुँदा मझेरीपाटनको रामेश्वरी माविको आठ कोठे भवन निर्माणका लागि पहल गरेको सम्झिए । सुकुम्बासी समस्या समाधानका लागि एमालेले पुनः सक्दो भूमिका खेल्ने उनले बताए ।
स्थानीयले चोरीको समस्या रहेकाले सीसीटिभिको आवश्यकता वडाभित्र देखिएको विषय उम्मेद्वार अधिकारीसमक्ष राखेका थिए । उम्मेद्वार अधिकारीले आफू निर्वाचित भएपछि पूर्वाधार निर्माण, सुरक्षा जोखिम न्यूनिकरण, आर्थिक विकास र संसदीय सहभागितामा सक्रिय हुने प्रतिबद्धता जनाए । उनले पूर्वाधार निर्माणमा जनसहभागिता पनि उत्तिकै महत्वपूर्ण हुने बताए ।
कास्की–१ मा एमालेले जितेपछि नै पूर्वाधार निर्माणतर्फ सम्झिनलायक काम भएको उनले दाबी गरे । नयाँ पार्टी आएको भनेर भ्रममा नपर्न मतदातालाई आग्रह पनि गरेका थिए ।
















