पोखरा।  कास्कीमा मतदान केन्द्रहरूमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूलाई तालिम दिन सुरु गरिएको छ । यहीं फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा खटिने ती कर्मचारीहरूलाई जनप्रिय बहुमुखी क्याम्पसको हलमा सोमबारदेखि तालिम सुरु गरिएको हो । कास्कीमा रहेका ३ वटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा पहिले सोमबार निर्वाचन क्षेत्र नं‍‍ १ मा खटिएका मतदान अधिकृत, सहायक मतदान अधिकृतलाई तालिम दिइएको छ । 

तालिमको उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि  कास्कीका मुख्य निर्वाचन अधिकृत हिमलाल बेलबासेले फागुन २१ गतेको निर्वाचन सफल बनाउन सम्पूर्ण राज्यशक्ति लागेको बताउँदै निर्वाचनमा खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृतलाई जिम्मेवार भएर राज्यशक्तिको प्रयोग बुद्धिमतापूर्वक गर्न निर्देशन दिए । निर्वाचनको दिन सबैभन्दा महत्वपूर्ण भूमिका मतदान अधिकृतको हुने भएकाले पूर्ण विश्वास, पूर्ण श्रद्धा र गौरवका साथ जिम्मेवारी निर्वाह गर्न आग्रह गरे ।

कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले तालिमको दौरान निर्वाचनको नीति नियम, कानुन र निर्देशिकाबारेमा स्पष्ट बन्न आग्रह गरिन् । मतदानका लागि अब धेरै समय बाँकी नरहेको बताउँदै अग्रिम रुपमा लिस्ट बनाएर काम गर्न आग्रह गरिन् । प्रजिअ शर्माले पूर्ण रुपमा प्रतिबद्ध भएर जिम्मेवारी सम्हाल्न आग्रह गरिन् ।

तालिममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी नवीन कार्कीले नेपाल प्रहरीको निर्वाचन सुरक्षा योजनाबारे जानकारी गराएका थिए । निर्वाचनको समयमा नेपाली सेना, सशस्त्र प्रहरीसँगै नेपाल प्रहरी र निर्वाचन प्रहरी तैनाथ हुने जनाउँदै उनले हरेक पालिकामा दुईवटा गाडीसहित इन्स्पेक्टरको कमान्डमा नेपाल प्रहरी तैनाथ रहने जानकारी दिए । निर्वाचनको समयमा हुन सक्ने सम्भावित अवाञ्छित घटनाहरूमा संलग्नहरूलाई पक्राउ गर्ने, हिरासतमा राख्ने वा खानतलासी गर्ने अधिकार  नेपाल प्रहरीसँग भएकाले सेना र सशस्त्र प्रहरीले त्यस्ता व्यक्तिहरूलाई नियन्त्रणमा लिई ह्याण्डओभर गर्ने बताए । फागुन १८ गते होली पर्व पनि परेकाले होली र निर्वाचनलाई लक्षित गरेर प्रहरीले फागुन १८ गतेदेखि सुरक्षा व्यवस्था कडा बनाउने जनाउँदै एसपी कार्कीले १८ गते मध्यरातदेखि पूर्ण रुपमा प्रहरी परिचालन हुने जानकारी दिए ।

सोमबारदेखि सुरु भएको कर्मचारीहरूको तालिम अबको तीन दिन सम्म चल्ने छ । जसअनुसार मङ्गलबार कास्की क्षेत्र नं। ३ मा खटिएका मतदान अधिकृत, सहायक मतदान अधिकृत र  बुधबार क्षेत्र नं २ मा खटिएका मतदान अधिकृत, सहायक मतदान अधिकृतलाई तालिम प्रदान गरिने छ । निर्वाचन कार्यालय गण्डकीका प्रदेश निर्वाचन अधिकारी नारायण ढकालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सूचना अधिकारी रुद्र न्यौपानेले गरेका थिए । 

कास्कीमा दुईवटा अस्थायीसहित कुल ३ सय ६५ वटा मतदान केन्द्रहरू रहेका छन् ।  एउटा मतदान केन्द्रमा एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत, ३ जना सहायक कर्मचारी र  एकजना कार्यालय सहयोगी गरी कुल ६ जना कर्मचारी खटिने छन् ।  मतदान अधिकृतले ३ जना स्वयंसेवक नियुक्त गर्न सक्ने व्यवस्था रहेको छ । कास्कीमा कैदीबन्दीका लागि कास्की जिल्ला कारागारभित्रै र मतदानमा नखटिने कर्मचारीहरूका लागि जिल्ला समन्वय समिति कास्कीमा अस्थायी मतदान केन्द्रको व्यवस्था गरिने छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0