पोखरा ।  जावलाखेल युथ क्लबलाई हराउँदै आयोजक सहारा क्लबले २५ औं संस्करणको आहा रारा पोखरा गोल्डकपको उपाधि जितेको छ । पोखरा रङ्गशालामा शनिबार भएको फाइनल खेलमा सहाराले जावलाखेललाई २–० गोल अन्तरले हरायो । सहाराका मुकुन्दकुमार निउरे र ते डिनियल बडारुले गोल गरे । 

सहाराले पहिलो सेमिफाइनलमा मनाङ मर्स्याङ्दी क्लबलाई हराउँदै फाइनलमा पुगेको थियो । जावलाखेलले दोस्रो सेमिफाइनलमा उज्वेकिस्तानको आभा एफसीलाई हराउँदै उपाधि नजिकै पुगेको थियो । उपाधि विजेता सहारा क्लबले नगद १४ लाख १ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो भने उपविजेतामा चित्त बुझाएको जावलाखेलले नगद ७ लाख १ हजारसहित शिल्ड, मेडल र प्रमाण प्राप्त गर्‍यो ।

२५औँ संस्करणको आहा रारा पोखरा गोल्डकपमा १२ वटा टोली सहभागी थिए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी आयोजक सहारा क्लब पोखराका मुकुन्दकुमार नुईरे भए । सहारा एकेडेमीका उत्पादन नुईरेले टेलजीको एक थान स्कुटर हात पारे । त्यस्तै, उत्कृष्ट स्ट्राइकर जावलाखेलका धर्वेन्द्र कुँवर, उत्कृष्ट मिडफिल्डर जावलाखेलकै बौबाकार सिस्सोखो, उत्कृष्ट डिफेन्डर सहाराका टाय डिनियल बडारु, उत्कृष्ट गोलकिपर सहाराका टिकेन्द्र थापा र सर्वाधिक गोलकर्ता प्लानिङ ब्वाईजका पापा ईबाउ केबे तथा उत्कृष्ट प्रशिक्षक सहाराका सुनिलकुमार राना बने । प्रतियोगिताको उत्कृष्ट ईमर्जिङ खेलाडीमा मुकुन्दकुमार नुईरे र फेयर प्लेमा आभा एफसी उज्बेकिस्तान घोषित भए । उत्कृष्ट बनेका सबैले नगद २५ हजार र ट्रफी प्राप्त गरे ।

बिजेताहरूलाई गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापा, पोखरा–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी, पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्की प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिका निर्देशक प्रकाश केसी, सहारा क्लब पोखराका अध्यक्ष केशवबहादुर थापा, संस्थापक अध्यक्ष वसन्त थकाली, पूर्व अध्यक्षहरू विक्रम थकाली, बिरभद्र आचार्य, हरिराम गुरुङ सुरज, केशवराज बराललगायतले पुरस्कार वितरण गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0