पोखरा । २५ औँ संस्करणको आहारारा पोखरा गोल्डकपको  शनिबार फाइनल खेल हुँदैछ । दिउँसो २ बजे पोखरा रङ्गशालामा हुने खेलमा जावलाखेल युथ क्लब र आयोजक सहारा क्लब उपाधिको लागि भिड्नेछ। जावलाखेल इतिहास कोर्ने र सहारा इतिहास दोहोर्‍याउने दाउमा हुनेछन् । १२ वर्ष अगाडि पहिलो उपाधि चुमेको सहारा ९ वर्ष पछि फाइनल पुगेको हो । 

चार पटक फाइनल पुगेको सहाराले दोस्रो पटक उपाधि उचाल्ने लक्ष्यसहित मैदान उत्रिने छ । जावलाखेल १४ वर्षपछि पोखराको मैदानमा फाइनल प्रवेश गरेको हो । १४ वर्ष अघि फाइनलमा उपाधि विहीनको अवस्थालाई अन्त्य गर्दै इतिहास कोर्ने लक्ष्यमा जावलाखेल रहनेछ । दुवैको रणनीति उपाधि उचाल्ने छ । त्यसको लागि आन्तरिक तयारीमा उनीहरू जुटिरहेका छन्  ।

जावलाखेलले उज्वेकिस्तानी टोली आभा फुटबल क्लबलाई पराजित गर्दै फाइनल प्रवेश गर्दा आफ्नो सेट टिमको खेलाडीलाई बेन्चमा राख्नुपर्ने छ । सहाराले भने आफ्नो सेट टिमलाई मैदान उतार्दै उपाधि उचाल्ने योजना बुनेको छ । जावलाखेलको आफ्नो सेट टिमबाट खेल्दै आएका युवराज ढकाललाई रातो कार्डसहित बेन्चमा राख्दा हुने अभावलाई वैकल्पिक खेलाडी मार्फत पुरा गर्नुपर्ने हुन्छ । त्यसको लागि टोली तयार रहेको प्रतिक्रिया शुक्रबार आयोजित प्रि-म्याच कन्फरेन्समा जावलाखेलका प्रशिक्षक सुनिलकुमार श्रेष्ठ सुनाउँछन् । उनले १४ वर्ष अघिको मनाङ मर्स्याङ्दी क्लबसँग फाइनलमा हारको पीडा भुल्दै उपाधि उचालेर इतिहास कोर्ने एउटैमात्र लक्ष्य रहेको बताए । उपाधि जित्न आफ्नो टोली उच्च मनोबलमा रहेको समेत सुनाए ।  उनका अनुसार उपाधिको लागि जावलाखेलले अट्याकिङ गेम खेल्नेछ ।

यता सहाराले पनि घरेलु मैदानमा दोस्रो पटक उपाधि उचाल्दै इतिहास दोहोर्‍याउने लक्ष्यमा एक कदम मात्रै बाँकी छ । एघारौँ संस्करणमा उपविजेता बनेको सहाराले बाह्रौँमा उपाधि जित्यो । त्यसपछि फेरी उपाधि निकट पुगेर यात्रा टुङ्ग्याएको सहाराले ९ वर्षपछि पुन: फाइनल खेल्दै छ । उपाधिको बाह्रवर्षको सङ्घारमा पुगेको सहाराले बाह्रवर्षपछि फेरी उपाधि उचालेर दर्शकलाई उपहार दिने योजनामा रहेको प्रशिक्षक सुनिल राना मगर बताउँछन् । सहारा विदेशी खेलाडीको भरमा डिफेन्स सम्हाल्ने छ । त्यसो त जावलाखेलले पनि विदेशी खेलाडी नै दरिलो रक्षकको भरमा रहने छ । पहिला स्कोर निकालेर दवाव बनाउने योजना दुवै टोलीको छ ।

सहारा क्लबको आयोजना तथा हिमश्री फुड्स प्रालिको मुख्य प्रायोजन रहेको आहारारा पोखरा गोल्डकपको पच्चीसौँ संस्करणको विजेताले १४ लाख १ हजार राशीसहितको उपाधि उचाल्ने छ । उपविजेताले ७ लाख १ हजार प्राप्त गर्ने छ । उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षक, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीलाई नगद २५ हजार जनही प्रदान गरिनेछ । फाइनल खेल शनिबार दिउँसो २ बजे सुरु हुने प्रतियोगिता संयोजक समेत रहेका सहारा क्लबका वरिष्ठ उपाध्यक्ष पूर्ण बहादुर गुरुङले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0