पोखरा ।  जावलाखेल युथ क्लब २५औँ संस्करणको आहा रारा पोखरा गोल्डकपको फाइनलमा पुगेको छ । बिहीबार पोखरा रङ्गशालामा भएको दोस्रो सेमिफाइनल खेलमा उज्बेकिस्तानको आभा एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै जाउलाखेलले १४ वर्षपछि फाइनल यात्रा तय गर्न सफल भएको हो।

निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफको ५२औँ मिनेटमा भएको आत्मघाती गोल नै निर्णायक बन्यो । धर्बेन्द्र कुँवरले  दिएको क्रस रोक्ने क्रममा आभा एफसीका डिफेन्डर कुशान गानिजानोभले जोगाउने क्रममा छातीमा बल लाग्दै जाली चुमेपछि जाउलाखेलले अग्रता लिएको थियो । सोही गोल नै खेलको एक मात्र गोल सावित भयो ।

६५औँ मिनेटमा मामुरोतोभलाई फाउल गरेपछि जाउलाखेलका युवराज ढकालले रातो कार्ड पाउँदै मैदान छाड्नुपरेको थियो। सङ्ख्यात्मक रुपमा कमजोर बने पनि जाउलाखेलले अन्तिमसम्म अग्रता जोगाउँदै फाइनल स्थान सुरक्षित गर्न सक्यो। खेलमा पराजित टोली आभा एफसीका जोकोचन राखीमोभ प्लेयर अफ दि म्याच घोषित भए ।

अब शनिबार हुने उपाधि भिडन्तमा आयोजक सहारा क्लब र जावलाखेल युथ क्लब आमनेसामने हुनेछन्। सहारा क्लब ९ वर्षपछि फाइनलमा पुगेको हो । प्रतियोगिताको विजेता टिमले १४ लाख १ हजार नगद पुरस्कार प्राप्त गर्ने छ । उपविजेताले ७ लाख १ हजार रुपैयाँ पाउनेछ । अनुशासित टोलीलाई २५ हजारसहित ट्रफी प्रदान गरिनेछ । उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षक, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीलाई नगद २५ हजार जनही प्रदान गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0