पोखरा । पोखरामा जारी २५औं आहा रारा पोखरा गोल्डकपमा बिहीबार शसस्त्र प्रहरीको एपीएफ क्लब र मनाङ मर्स्याङदीका बीच खेल हुने भएको छ । आयोजक सहारा क्लबका अध्यक्ष केशवबहादुर थापाका अनुसार खेल दिउँसो ४ बजे पोखरा रङ्गशालामा सुरु हुनेछ ।
यस अगाडि बुधबारको खेलमा जावलाखेल युथ क्लबले विजयी सुरुवात गरेको छ । मछिन्द्र क्लबलाई २–० को गोलले पराजित गर्दै जाउलाखेलले विजयी सुरुवात गरेको हो । मध्यान्तरसम्म बराबरीमा रहेको खेलमा ५४औं मिनेट जमैकन खेलाडी निकोलस हेमिलटनले गोल गर्दै जावलाखेललाई अग्रता दिए । दोस्रो गोल ६४औं मिनेटमा बौबुकार सिसोखोकोले गरे । सेनेगलका बौबुकारलाई सो गोल गर्न निकोलसले नै एसिष्ट गरेका थिए ।
मछिन्द्र पटक–पटक खेलमा फर्किन खोजे पनि त्यसलाई जावलाखेलका खेलाडीहरूले असफल बनाएका थिए । खेलमा निकोलस प्लेयर अफ दि म्याच बने । जावलाखेल यो जितसँगै क्वार्टरफाइनलमा प्रवेश गरेको छ । जावलाखेल २०६८ सालमा आहा रारा गोल्डकपको उपविजेता टोली समेत हो ।अब जावालखेलले आइतबार हुने क्वार्टरफाइनलमा चर्च व्वाइजसँग भेट पक्का गरेको छ ।
सहारा क्लब पोखराले आयोजना गरेको प्रतियोगिता फागुन ९ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको उपाधि विजेताले १४ लाख १ हजार रुपैयाँ प्राप्त गर्ने छ भने उपविजेता टिमले ७ लाख १ हजार रुपैयाँ पाउनेछ । प्रतियोगितालाई हिमश्री फुड्सको उत्पादन आहा तथा रारा तयारी चाउचाउले प्रायोजन गरेको छ ।
















