पाेखरापोखरामा निर्वाचन प्रक्रियामा महिलाको सहभागिता प्रवर्द्धनका लागि संवाद कार्यक्रम सम्पन्न भएको छ । मङ्गलबार दलित महिला केन्द्र नेपालको आयोजनामा सो संवाद कार्यक्रम गरिएको हो ।  कार्यक्रममा राष्ट्रिय सभा सदस्य रेनु चन्दले यसअघि सातैवटा प्रदेशमा प्रतिनिधि सभा निर्वाचन २०८२ मा प्रत्यक्ष र समानुपातिक दुवैतर्फ उम्मेदवारी दिएका महिलाहरूसँग छलफल गरिएको बताइन् । सो छलफलबाट प्राप्त गुनासो एवं सुझावहरू राजनीतिक दल र नागरिक अगुवासम्म पुर्‍याउनका लागि संवाद कार्यक्रम आयोजना गरिएको बताइन् । 

सो अवसरमा उनले आगामी निर्वाचनमा उम्मेदवार तथा मतदाताकोरूपमा महिलाको सहभागिताको समग्र अवस्थाबारे जानकारी गराएकी थिइन् । चन्दले उम्मेदवार दर्ताको सन्दर्भमा हेर्दा पुरुषको तुलनमा महिलाको सङ्ख्या न्यून रहेको र त्यसमा पनि केही उम्मेदवारी खारेज एवं फिर्ता भएको जानकारी गराइन् । महिला सहभागिताको सङ्ख्या न्यून रहेको जनाउँदै उनले अर्कोपटक हुने निर्वाचनमा राजनीतिक दलहरूले यसलाई गम्भीर रुपमा लिनुपर्ने बताइन्

नेपाल सरकारका पूर्व उपसचिव सरू जोशीले महिला उम्मेदवारहरू कम उठाइएको र त्यसमा पनि प्रभावशाली क्षेत्रमा महिलाले अवसर नपाएको उल्लेख गरिन् । विगतको निर्वाचनहरूको तथ्याङ्क हेर्दा महिला उम्मेदवारहरूको सङ्ख्या घट्दै गइरहेको बताउँदै उनले “जहाँ विजय अनिश्चित त्यहाँ महिलाको उम्मेदवारी सुनिश्चित” जस्तो गरी टिकट वितरण नगर्न आग्रह गरिन् ।

संवाद कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, गण्डकी प्रदेश सभा सदस्यहरू, नागरिक समाजका अगुवाहरू र सञ्चारकर्मीको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागीहरूले नीति निर्माण तहमा महिलाहरू पुग्नुपर्ने र यसका लागि मतदाताले पार्टीभन्दा माथि रहेर महिला उम्मेदवारलाई मतदान गर्नुपर्ने बताए । यस्तै उनीहरूले महिलाको सहभागिता विना परिवर्तन सम्भव नरहेको,  महिला र पुरुषबीचको विभेदलाई पक्ष र विपक्ष भएर सोच्न नहुने, महिलाको समस्यामा महिलाले मात्रै बोल्नुपर्छ भन्ने धारणा हटाउनुपर्ने लगायतका धारणा राखेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0