लेखनाथ । लेखनाथ उद्योग वाणिज्य सङ्घले व्यवसायीहरूका लागि आयकर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम आइतबार सम्पन्न गरेको छ । तालिमको शुभारम्भ गर्दै सङ्घका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले तालिममार्फत व्यवसायीहरूले जीवनभर आफूलाई उपयुक्त हुने ज्ञान हासिल गर्न सक्ने र व्यवसायिक जीवनमा सफलता हासिल गर्न सकिने बताएका थिए ।
उनले व्यवसायिक जीवनमा कसैले खोट लगाउन नसक्ने स्वाभिमानी जीवन बाँच्नको लागि विभिन्न किसिमका करसम्बन्धी जानकारी हुनुपर्ने र कर तिर्नु हरेक नागरिकको कर्तव्य समेत भएकाले नियतवश कर छल्ने कार्य गर्दा भोलिका दिनमा कसैले पनि सहयोग गर्न नसक्ने अवस्था आउनेतर्फ सजग गराए ।
कार्यक्रममा सङ्घका अध्यक्ष जानुका पराजुली अधिकारीले सङ्घमा आवद्ध व्यवसायीहरूलाई व्यवसायिक जीवनमा अझै सफल बनाउने उद्देश्यले र कर गणना, कर विवरण भर्ने, कर चुक्ता लिने, आय विवरण बुझाउने, करसम्बन्धी झन्झटहरू मिसम्याचमा पर्ने, ननफाइलर रहने जस्ता विषयमा व्यवसायीले भोगेका समस्याहरू निराकरणका लागि तालिमको आयोजना गरिएको बताइन । उनले राष्ट्रको समृद्धि, विकास र सुशासन कर प्रणालीको पारदर्शिता तथा जनताको करप्रतिको सकारात्मक भावना विकास गर्न तालिमले सहयोग गर्ने विश्वास व्यक्त गरिन ।
उक्त अवसरमा तालिम व्यवस्थापन उप–समितिका संयोजक सुजन न्यौपानेले व्यवसायीले भोगेका समस्याहरू निराकरणका तालिमको आयोजना गरिएको बताउँदै कर डराउनुपर्ने विषय नभई जान्नुपर्ने विषय भएकाले उद्यमी/व्यवसायीहरूलाई सचेत बनाउन र पालना गर्नुपर्ने न्यूनतम नियमहरु पालना गराउनका लागि तालिम महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका थिए ।
सङ्घका प्रथम उपाध्यक्ष विक्रम कर्माचार्यले व्यवसायीहरूमा करलाई प्राथमिकता र महत्व नदिइएका कारण विभिन्न समस्या भोगिरहनुपरेको र राज्यको ऐन कानुन एवं कर नीतिको बारेमा ज्ञान भएन भनेर उन्मुक्ति नपाइने भएकाले यस विषयमा सचेत गराउन तालिम प्रभावकारी हुने बताएका थिए । उनले प्रत्येक आर्थिक वर्षको सुरुवातसँगै परिवर्तन भइरहने कर नीतिको विषयमा पनि व्यवसायिहरूले आफूलाई अद्यावधिक राख्नुपर्ने बताएका थिए ।
७० भन्दा वढि उद्योगि/व्यवसायीहरूको सहभागिता रहेको तालिममा विवेक एण्ड एशोसिएट्सका सञ्चालक सिए विवेक श्रेष्ठले प्रशिक्षण दिएका थिए । सङ्घका अध्यक्ष जानुका पराजुली अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव भरतराज ओझाले गरेका थिए ।
















