पोखरा । आहा!रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको २५ औं संस्करण यही माघ २७ गते मङ्गलबारदेखि सुरु हुने भएको छ । पोखराको सहारा क्लबको आयोजनामा पोखरा रङ्गशालाको फुटबल मैदानमा सुरु हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आभ्या क्लबमा आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ।

प्रतियोगितामा ३ विदेशी सहित १२ टिम सहभागि हुने सहारा क्लबका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए । फागुन ९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल एपीएफ क्लब, नेपाल पुलिस क्लब, मछिन्द्र फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, मनाङ मर्स्याङ्दी क्लब, जावलाखेल युथ क्लब, प्लानिङ ब्वाइज युनाइटेड, फ्रेन्ड्स क्लब, आयोजक सहारा क्लब पोखरा सहित उज्वेकिस्तानको आभा फुटबल क्लब, भारत सिक्किमको थण्डरबोल्ट नर्थ युनाइटेड र हङ्गकङको गोर्खा इन्टरनेसनल फुटबल क्लब सहभागी हुने अध्यक्ष थापाले खुलाए ।

जस अनुसार मङ्गलबार उद्‌घाटन खेलमा आयोजक सहारा क्लबहङ्कङको गोर्खा इन्टरनेसनल फुटबल क्लब बिच प्रतिष्पर्धा हुनेछ ।

प्रतियोगिताको विजेताले नगद १४ लाख १ हजार रुपैयाँसहित शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ७ लाख १ हजार रुपैयाँसहित शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र पाउने प्रतियोगिता संयोजक समेत रहेका सहारा क्लबका वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङले जानकारी दिए । साथै अनुशासित टिम, उत्कृष्ट खेलाडी, गोलकिपर, डिफेन्स, मिडफिल्डर, स्ट्राइकर, प्रशिक्षक, सर्वाधिक गोलकर्ता, उदयमान खेलाडी तथा प्रत्येक खेलको ‘म्यान अफ दी म्याच’ र भाग्यशाली दर्शकलाई समेत आकर्षक पुरस्कार प्रदान गरिने उनको भनाइ छ।

यस वर्षको सर्वोत्कृष्ट खेलाडीले टेल्जी इलेक्ट्रिक स्कुटर प्राप्त गर्नेछन्। सहारा क्लब पोखराले हरेक वर्ष प्रदान गर्दै आएको सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मानबाट यस वर्ष राष्ट्रिय महिला फुटबल टोलीकी खेलाडी प्रीति राई सम्मानित हुने प्रतियोगिताका संयोजक  गुरुङले खुलाए। क्लबका मानार्थ सदस्य खेमबहादुर गुरुङले उक्त पुरस्कारको लागि ५१ हजार प्रायोजन गरेका छन् ।मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिको आहा तथा रारा तयारी चाउचाउ रहेको छ भने प्रतियोगितामा पोखरा महानगरपालिका संरक्षकका रूपमा रहेको छ ।

“खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौँ” भन्ने मूल नारासहित सञ्चालन हुँदै आएको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २५ औँ संस्करण सन्ध्याकालमाअस्थायी फ्लडलाइटमा फुटबल प्रतियोगिता हुने भएको महासचिव गङ्गाराज पौडेलले बताए ।

पत्रकार सम्मेलनमा सहारा युकेका अध्यक्ष सारदा गुरुङले ‘म्यान अफ दी म्याच’ ट्रफी क्लब अध्यक्ष केशव बहादुर थापालाई हस्तान्तरण गरेका थिए। हिमश्री फुड्सका कार्यकारी निर्देशक प्रकाश केसीले स्व.सूर्य बहादुर केसीले आहा रारा गोल्डकपसँग जोडेको सम्बन्धलाई निरन्तरता दिँदै खेलकुदसँगै शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि सहयोग गर्दै आएको बताए। अर्का निर्देशक किरण केसीले आहा रारा पोखरा गोल्डकपलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डका रूपमा स्थापित गर्न सहकार्य जारी रहने स्पष्ट पारे ।

पोखरा महानगरपालिका वडा नं. ९ का वडाध्यक्ष दिपेन्द्र मर्सानीले पोखरामा फुटबल विकासमा सहारा क्लबले उदाहरणीय भूमिका खेलेको भन्दै वडाले प्रतियोगितालाई विशेष सहयोग गर्दै आएको बताए । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0