पोखरा । जिल्ला समन्वय समिति कास्कीले जिल्लास्थित विभिन्न ज्येष्ठ नागरिक सम्बद्ध सङ्घ संस्थाका प्रतिनिधिसँग आइतबार छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गरेका थिए । प्रमुख पौडेलले ज्येष्ठ नागरिकको संविधान र कानुनले ब्यवस्था गरेका सेवा सुविधाको निसर्त कार्यन्वयन हुनुपर्ने भन्दै विभिन्न कार्यालय र सरोकारवालाहरू यस सम्बन्धमा गम्भीर हुनुपर्ने उल्लेख गरे ।
सार्वजनिक यातायातमा ५० प्रतिशत छुटको प्रावधान कार्यान्वयन हुन नसकेको, सेवा प्रदायक अस्पताल, बैङ्क सहितका सेवा प्रदायक निजी तथा सार्वजनिक संस्था हरूको ध्यानाकर्षण गराउँदै उनले केही सरकारी तथा सरोकारवाला कार्यालयहरूमा सेवा प्रवाह ज्येष्ठ नागरिक मैत्री नभएको गुनासो आएको भन्दै तत्काल सेवा प्रवाहमा ज्येष्ठ नागरिकहरूलाई प्राथमिकतामा राख्न आग्रह गरे । प्रमुख पौडेलले जिल्ला समन्वय समितिलाई नागरिकका गुनासा सुन्ने र समाधानका उपाय खोज्ने थलोको रूपमा लिन आग्रह गर्दै कुनै गुनासा भए जानकारी गराउन अनुरोध गरे ।
जिल्ला समन्वय समिति कास्कीका शाखा अधिकृत लक्षु शर्माले ज्येष्ठ नागरिकका अधिकार र वर्तमान अवस्था विषयमा अवधारणा पत्र प्रस्तुत गरेका थिए । शर्माले ज्येष्ठ नागरिकका सम्बन्धमा भएका कानुनी ब्यवस्था, हक अधिकार सम्बन्धी अन्य नीतिगत ब्यवस्था र कार्यान्वयनमा देखिएका चुनौती र समस्या सहित समाधानका बारेमा चर्चा गरेका थिए ।
ज्येष्ठ नागरिक सेवा सम्बन्धमा सञ्चालित ज्येष्ठ नागरिक आश्रम र दिवा सेवा केन्द्रहरूका सञ्चालक तथा कार्यक्रमका सहभागीहरूले ज्येष्ठ नागरिकहरूले भोग्नु परेका समस्याका पारेमा अवगत गराएका थिए । उनीहरूले ज्येष्ठ नागरिकका समस्या पहिचान र समाधान र कार्यान्वयनका बारेमा राज्यका निकाय सक्रिय र संवेदनशील हुनु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा कास्की जिल्लामा क्रियाशील विभिन्न ज्येष्ठ नागरिक सम्वद्ध संघ, संस्थाका प्रतिनिधि र सरोकारवाला निकायहरूको उपस्थिति रहेको थियो ।
जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत सदस्य सीतादेवी विश्वकर्मा र सञ्चालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गरेका थिए ।
















