पोखरा । कास्की जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ मा ‘निर्वाचन आचारसंहिता–२०८२’ कार्यान्वयन विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कास्कीका मुख्य निर्वाचन अधिकृत हिमलाल बेलबासेको प्रमुख आतिथ्यतामा, प्रदेश निर्वाचन अधिकारी नारायण ढकाल, कास्की जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ का निर्वाचन अधिकृत सिता रेग्मी, क्षेत्र नं. २ का निर्वाचन अधिकृत निर्मला कुमारी थापा, अनुगमन अधिकृत रमेश अर्याल सहितको उपस्थितिमा कास्की निर्वाचन क्षेत्र नं.१ का उम्मेदवार, राजनीतिक दल, प्रतिनिधि एवं सरोकारवाला निकायसँग बृहत् अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

कार्यक्रममा कास्की जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ का सहायक निर्वाचन अधिकृत सोनु बानियाँले निर्वाचन आचारसंहिता–२०८२ का बारेमा प्रस्तुती राखेका थिए । कोलेनिका कास्कीका प्रमुख कोष नियन्त्रक समेत रहेका अनुगमन अधिकृत रमेश अर्यालले उम्मेदवारले निर्वाचनमा खर्च गर्दा ध्यान दिनुपर्ने विषयका बारेमा प्रकाश पारेका थिए । अन्तरक्रिया कार्यक्रममा सहभागीले निर्वाचन आचारसंहिताका विषयमा आफ्ना जिज्ञासा र सुझाब राखेका थिए ।

उनीहरूका जिज्ञासालाई सम्बोधन गर्दै कास्कीका मुख्य निर्वाचन अधिकृत हिमलाल बेलबासेले निर्वाचन आचारसंहिता उल्लङ्घन हुन नदिन ध्यान दिन आग्रह गरे । कहीँ कतै उल्लङ्घन भएको देखिएमा जानकारी दिन उनले अनुरोध गरे । निर्वाचन आयोगले उजुरी तथा सूचना दिनका लागि अलग्गै इमेलको व्यवस्था गरेकोले आचारसंहिता उल्लङ्घनका घटनाबारे नागरिकले इमेल मार्फत प्रमाणसहित उजुरी दिनसक्ने स्पष्ट पारे । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउनका लागि सबै पक्षको साथ र सहयोग आवश्यक पर्ने बताउँदै उम्मेदवार तथा राजनीतिक दलहरूलाई सोही अनुसारको भूमिका निभाउन उनको जोड थियो ।

कास्की निर्वाचन क्षेत्र नं.१ का निर्वाचन अधिकृत सीता रेग्मीले आउँदो निर्वाचनलाई सभ्य र भयमुक्त वातावरणमा सम्पन्न गर्न निरन्तर रुपमा सरोकारवाला निकायसँग छलफल र समन्वय भइरहेको बताइन् । सामाजिक सञ्जालको तीव्र प्रयोग भइरहेको अवसरमा निर्वाचन आचारसंहिताबारे कोही पनि अनभिज्ञ नरहेको दावी गर्दै उनले आचारसंहीता सम्बन्धी प्राविधिक र कानुनी जटिलता एवं जिज्ञासाहरू बारे जानकारी दिन अन्तरक्रिया गरिएको बताइन् ।

कार्यक्रमको सञ्चालन कास्की निर्वाचन क्षेत्र नं.१ का निर्वाचन अधिकृतको कार्यालयका कर्मचारी रमेश ढकालले गरेका थिए । कास्की निर्वाचन क्षेत्र नं.१ मा पोखरा महानगरपालिकाका वडा १०, १२, १३, १४, २६, २७, २८, २९, ३०, ३१ र ३२ सहित मादी र रुपा गाउँपालिकाको पूरै भाग पर्दछ । यस पटकको निर्वाचनमा यस क्षेत्रबाट १७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । साेमबार नै मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्की क्षेत्र नं. ३ ले पनि अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो ।

















