पोखरा । सोसल पब्लिक स्कुलको प्रस्तुतिमा तयार भएको नाटक ‘किनारा विहीन किनारा’ पोखरामा मञ्चन हुने भएको छ । पोखरा थिएटरले आयोजना गरेको छैटौँ संस्करणको ‘पोखरा विद्यालय नाटक महोत्सव २०८२’ मा यो नाटक मञ्च हुन लागेको हो । पुरु लम्सालले लेखेको नाटक धनकाजी श्रेष्ठको निर्देशनमा तयार भएको छ ।
नाटकलाई परिपक्क बनाउन सोसल पब्लिक स्कुलका विद्यार्थी कलाकारले केही दिनदेखि मिहिनेत गरिरहेका छन् । महोत्सवमा पुग्ने दर्शकको साथ पाउने विश्वास उनीहरूले गरेका छन् । यो नाटक पोखरा थिएटरको गन्धर्व नाटकघरमा माघ १७ र १८ गते गरेर पाँच सो मञ्चन हुनेछ । १७ गते बिहान साढे १० बजे र दिउँसो साढे ३ बजे तथा १८ गते बिहान साढे १० बजे, मध्यान्ह १२ बजे र दिउँसो साढे १ बजे यो नाटक मञ्चन हुने निर्देशक श्रेष्ठले जानकारी दिए ।
नाटकमा आयुष खड्का, खुशी केसी, सृष्टि राजवंशी, प्रतीक गुरुङ, पारस राना, लिविशा थापा, युना दुरा, सतिशा ठकुरी, स्नेहा राना, संयोग गुरुङ, रिजा श्रेष्ठ लगायतको अभिनय हेर्न पाइनेछ ।
छैटौँ संस्करणको ‘पोखरा विद्यालय नाटक महोत्सव २०८२’मा नाटक ‘किनारा विहीन किनारा’ का अलावा भानुभक्त आवासीय माविको ‘रोल नम्बर ४’, माउन्ट अन्नपूर्ण मावि नदीपुरको ‘त्यो फेरि फर्कला’, छोरेपाटन मावि छोरेपाटनको पार्वती, कास्की मोडनाइज्ड एकेडेमी चाउथेको यमद्वार, एसओएस हर्मन माइनर स्कुल गण्डकीको किताब भित्र किताब बाहिर र प्रगति माध्यामिक विद्यालयको भात नाटक सहभागी छन् । यी मध्ये केही नाटक मञ्चन भइसके भने केही हुने तयारीमा रहेको पोखरा थिएटरका संस्थापक अध्यक्ष तथा महोत्सव संयोजक परिवर्तनले जानकारी दिए ।
माघ १९ गतेसम्म सञ्चालन हुने महोत्सवमा कक्षामा मञ्च, पढाइको पासवर्ड के हो, द पावर बिहाइन्ड द स्कुल गरी तीनवटा संवाद कार्यक्रम, अभिनय प्रतियोगिता, टिचर अनप्लग्ड लगायत आकर्षणको रुपमा राखिएको छ । माघ १० गते उद्घाटन भएको महोत्सव माघ १९ गते समापन हुनेछ । ‘नाटकबाट शिक्षा, सिकाइमा नवीनता’ नाराका साथ महोत्सव आयोजना गरिएको हो ।
















