पोखरा । भानुभक्त आवासीय मावि सिमपानीको प्रस्तुतिमा तयार भएको नाटक ‘रोल नम्बर ४’ पोखरामा मञ्चन हुने भएको छ । पोखरा थिएटरले आयोजना गरेको छैटौँ संस्करणको ‘पोखरा विद्यालय नाटक महोत्सव २०८२’ मा यो नाटक मञ्च हुन लागेको हो । टङ्क चौलागाईंले लेखेको नाटक रञ्जु दाहाल तथा रमेश तिमल्सिनाको निर्देशनमा तयार भएको छ । 

नाटकमा गौरव प्रसाद पराजुली, प्रवेश ताम्राकार, प्रवेश थापा, शिशिर सन्जेल, श्री कृष्ण श्रेष्ठ, एरिना बास्तोला, उपासना आचार्य, सुमिना श्रीस, सलिना तामाङ, रितिक सुनार, सुजल गुरुङ, मञ्जिल रानामगर, जोनाथन तामाङ, गोले, कुमारी पुन, सिजन पुन मगरको अभिनय हेर्न पाइनेछ । 

नाटकलाई सुन्दर बनाउन उनीहरूले केही दिनदेखि मिहिनेत गरिरहेका छन् । महोत्सवमा पुग्ने दर्शकको साथ पाउने विश्वास उनीहरूले गरेका छन् । यो नाटक बुधबार तीन सो मञ्चन हुनेछ । बिहान साढे १० बजे, मध्यान्ह १२ बजे र दिउँसो साढे १ बजे पोखरा थिएटरको गन्धर्व नाटकघरमा यो नाटक मञ्चन हुने निर्देशक तिमल्सिनाले जानकारी दिए ।

छैटौँ संस्करणको ‘पोखरा विद्यालय नाटक महोत्सव २०८२’मा ‘रोल नम्बर ४’ नाटकको अलावा माउन्ट अन्नपूर्ण मावि नदीपुरको ‘त्यो फेरि फर्कला’, छोरेपाटन मावि छोरेपाटनको पार्वती, कास्की मोडनाइज्ड एकेडेमी चाउथेको यमद्वार, भानुभक्त आवासीय मावि सिमपानीको रोल नं.४, एसओएस हर्मन माइनर स्कुल गण्डकीको किताब भित्र किताब बाहिर, सोसल पब्लिक स्कुल रामबजारको किनारा विहीन किनारा र प्रगति माध्यामिक विद्यालयको भात नाटक सहभागी छन् । यी मध्ये केही नाटक मञ्चन भइसके भने केही हुने तयारीमा रहेको पोखरा थिएटरका संस्थापक अध्यक्ष तथा महोत्सव संयोजक परिवर्तनले जानकारी दिए । 

माघ १९ गतेसम्म सञ्चालन हुने महोत्सवमा  कक्षामा मञ्च, पढाइको पासवर्ड के हो, द पावर बिहाइन्ड द स्कुल गरी तीनवटा संवाद कार्यक्रम, अभिनय प्रतियोगिता, टिचर अनप्लग्ड लगायत  आकर्षणको रुपमा राखिएको छ । माघ १० गते उद्‌घाटन भएको महोत्सव माघ १९ गते समापन हुनेछ । ‘नाटकबाट शिक्षा, सिकाइमा नवीनता’ नाराका साथ महोत्सव आयोजना गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0