पोखरा । आज २८औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस ‘सबै तहका सरकार, सबै नागरिकको तयारीःभूकम्प उत्थानशील नेपाल अबको जिम्मेवारी’ भन्ने नाराका साथ देशभर विभिन्न कार्यक्रम गरि मनाइएको छ । भूकम्प सुरक्षा दिवसको अवसरमा पोखरामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रुपमा भूकम्पीय जोखिम न्यूनीकरणसम्बन्धी कृत्रिम घटना अभ्यास गरेको छ ।
जिल्ला विपद् व्यवस्थापन समिति कास्की, पोखरा महानगरपालिका तथा सशस्त्र प्रहरी बल, नेपाल नं.२४ गण हेडक्वार्टर कालिका कास्कीको संयुक्त आयोजनामा उक्त अभ्यास गरिएको हो । भुकम्पको समयमा अपनाउनुपर्ने सावधानीदेखि भुकम्प पछिको उद्धार र भूकम्पपछि हुन सक्ने सम्भावित दुर्घटना न्यूनिकरणबारे कृत्रिम अभ्यास गरिएको थियो । जसमा नेपाली सेनाका १५ , नेपाल प्रहरीका १५ र सशस्त्र प्रहरीका १५ गरी ४५ जना सुरक्षाकर्मीहरू सहभागी थिए ।
सशस्त्र प्रहरी बल, नेपाल नं. २४ गण हेडक्वार्टर कालिका गण कास्कीका गणपति शसस्त्र प्रहरी उपरीक्षक सूर्य प्रसाद तिमिल्सिनाले नेपाल भूकम्पीय जोखिमको ११ औँ स्थानमा रहेकोले जुनसुकै समयमा पनि भुकम्प जस्ता विपद निम्तिन सक्ने बताए । भुकम्प र यसपश्चात् निम्तनसक्ने आगलागी, पहिरोजस्ता विपदबाट हुन सक्ने क्षति न्यूनिकरण गर्ने अभिप्रायले कार्यक्रम आयोजना गरिएको उनले बताए ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरा महानगरपालिकाले भुकम्प, जमिन भासिने लगायत अन्य सम्भावित विपद जोखिमलाई मध्यनजर गर्दै युरोपियन युनियनको सहयोगमा देशमै पहिलोपटक बिल्डिङ कोड लागू गरेको बताए । यसअघिका संरचनाहरूको सन्दर्भमा रेट्रोफिट गर्नुपर्ने भए सो गर्न र अब बन्ने संरचनामा अनिवार्य रुपमा बिल्डिङ कोड लागू गर्नुपर्ने बताए ।
जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले विभिन्न समयमा आएको भुकम्पका कारण नेपालमा ठूलो मात्रामा जनधनको क्षति भएको स्मरण गर्दै यस्ता विपत्तिबारे कुनैपनि बेला निम्तिन सक्ने बताए । अब सबैले आचारसंहितामा केन्द्रित रहेर संरचनाहरू निर्माण गर्नुपर्ने र यसमा सबै तहका सरकार, सबै नागरिकले ध्यान दिनुपर्ने बताए ।
कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष माधव प्रसाद बराल लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन मान बहादुर खड्काले गरेका थिए ।
वि.सं. १९९० साल माघ २ गते गएको विनाशकारी महाभूकम्पको सम्झनामा २०५५ सालदेखि हरेक वर्ष यो दिवस मनाउन थालिएको हो । यस दिवसको उद्देश्य भूकम्पबाट हुने क्षतिको न्यूनीकरणका लागि जनचेतना अभिवृद्धि गर्नु हो । १९९० साल माघ २ गते दिउँसो २ बजेर २४ मिनेटमा गएको भूकम्पको स्मृतिमा हरेक वर्ष यही दिनलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रूपमा मनाइने गरिन्छ ।
















