काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरूले नेपालमा नेपालीकै सरकार बनाउने र अरुको सरकार बनेमा सङ्घर्ष गरेर ढाल्ने बताएका छन् । ४२ औँ पिस्कर सहिद स्मृति दिवस तथा सरेश नेपालद्वारा लिखित ‘जेलभित्रका सङ्घर्ष’ पुस्तकको विमोचन कार्यक्रममा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री ओलीले आफूहरू नेपालमा नेपालीकै सरकार हुनुपर्छ र समृद्धि आफूहरूकै पालामा हुनुपर्छ भन्ने अभियानका अहिले पनि लागिरहेको स्पष्ट पारे । 

अध्यक्ष ओलीले नेपालमा नेपालीका सरकार हुनुपर्छ भन्नेहरूका घर र पार्टी कार्यालय छानीछानी आगो लगाइएको, कार्यापालिका, न्यायपालिका र राष्ट्रका मुख्य संरचना तथा राष्ट्रिय उद्योगहरू जलाइएको उल्लेख गर्दै अहिले थिति र विधिको शासन नभई जथाभावी शासन चलाइएको टिप्पणी गरे ।

 “अहिले दुनियाँमा भइरहेको शासनको प्रतिविम्ब नेपालमा देख्न सकिन्छ । अहिले कसैको सम्पत्ति खाएको छ भने पनि मुद्दा लाग्दैन, हिजो लागेका अभियोग सच्याइन्छ र चुनावका लागि त्यस्ता मान्छेलाई हिरो बनाइन्छ ।’’, अध्यक्ष ओलीको भनाइ थियो, “हामी नेपालमा नेपालको सरकार बनाउन चाहन्छौँ । अरुको सरकार बनाउन दिँदैनौँ । बन्यो भने ढाल्छौँ । यसबारे आजको नयाँ पुस्ता सचेत हुन आवश्यक छ, यो देश पुर्खाले लडेर स्वतन्त्र र सार्वभौम बनाएको देश हो । यसलाई बचाउनु हामी सबैको दायित्व हो ।’’

 राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दा फिर्ता लिन महान्यायाधिवक्ताको कार्यालयले गरेको निर्णयमा आपत्ति जनाउँदै उहाँले प्रश्न गर्दै भन्नुभयो, “अहिले महान्यायाधिवक्ताको कार्यालय इतिहासकै लागि लज्जाको विषय बनेको छ । जनताको हिनामिना भएको पैसा कस्ले तिर्छ ? महान्यायाधिवक्ताको कार्यालयले तिर्छ ?’’ आफ्नो पार्टी इतिहासको कालदेखि राष्ट्रिय स्वाधीनता र समृद्धिका लागि सङ्घर्षका उतारचढावबाट अघि बढ्दै आएकाले फेरि पनि निर्भयताका साथ लाग्न उनको आग्रह थियो । निरङ्कुश पञ्चायत सरकारले सिन्धुपाल्चोकको पिस्करमा २०४० साल पुस ३० गते हत्या काण्ड गराएको घटना स्मरण गर्दै उहाँले सहिदको बलिदान र परिवर्तनकारी जनताको आदर्शप्रति कर्तव्यनिष्ठ भएर नयाँ लाग्नुको विकल्पन नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0