पोखरा । आईसीसी टी–२० विश्वकप ट्रफी टुर अन्तर्गत मङ्गलबार विश्वकपको ट्रफी पोखरामा प्रदर्शन गरिएको छ। ट्रफी टुर कार्यक्रमअनुसार पोखरामा ल्याइएको ट्रफीलाई  पोखरा रङ्गशालाको क्रिकेट मैदानमा प्रदर्शन गरियो । गण्डकी प्रदेश सरकारका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाको उपस्थितिमा ट्रफी प्रदर्शन गरिएको थियो । पोखरामा विश्वकपको ट्रफी प्रदर्शन हुनु खुशीको कुरा भएको उनले सो अवसरमा उल्लेख गरे । नेपालले समेत भाग लिने यो प्रतियोगिताको लागि नेपाली टिमलाई सफलताको शुभकामना पनि दिए । उनले ट्रफी टुर गर्ने स्थानको रुपमा पोखरा समेत पारेकोमा आइसिसिलाई धन्यवाद दिए। 

 मौसमको खराबी कारण निर्धारित समय भन्दा ढिला गरी ट्रफी पोखरामा आएपनि पूर्व निर्धारित ठाउँहरूमा प्रदर्शन गरिएको प्रादेशिक क्रिकेट सङ्घ गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिएका छन् । ट्रफी प्रदर्शनमा सहभागी बनेर तस्बिर खिच्न खेलाडी, प्रशिक्षक, खेलप्रेमी, सञ्चारकर्मी सहित सर्वसाधारणको भिड लागेको थियो । ट्रफी पोखराको लेकसाइड फेवाताल किनारमा समेत प्रदर्शन गरियो । जहाँ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उपस्थिति रहेको थियो ।

आईसीसी टी–२० विश्वकप ट्रफीको पोखरा भ्रमणले पोखराको पर्यटन प्रवर्द्धनसँगै क्रिकेटप्रति आकर्षण अझ बढ्ने विश्वास गरिएको छ। ट्रफी टुरअन्तर्गत नेपाल आइपुगेको विश्वकपको ट्रफी सोमबार राष्ट्रपति कार्यालयमा प्रदर्शन गरिएको थियो । बुधवार दिउँसो २ बजेदेखि ३ बजेसम्म बौद्धनाथ स्तूप परिसरमा प्रदर्शनीमा राखिने क्यानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0