पोखरा। पोखरा २ बरपाटनमा रहेको विन्ध्यवासिनी माध्यमिक विद्यालयले प्रथम विन्ध्यवासिनी कप छात्र भलिबल प्रतियोगिता २०८२ आयोजना गर्ने भएको छ । पोखरा महानगरपालिका अन्तरगतका सामुदायिक विद्यालय सहभागी हुन पाउने यो प्रतियोगिता आगामी माघ १ गतेबाट सञ्चालन हुने विद्यालयका प्रधानाध्यापक बसन्तराज पाण्डेले जानकारी दिए ।
विद्यालय प्राङ्गणमा रहेको भलिबल कोर्टमा सञ्चालन हुने प्रतियोगिता माघ ५ गतेसम्म चल्नेछ । ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नारासहित आयोजित प्रतियोगितामा सामुदायिक विद्यालयमा कक्षा १२ सम्म अध्ययनरत १८ वर्षभित्रका विद्यार्थीहरू सहभागी हुन पाउने छन् ।
टिम दर्ता गर्दा सहभागी विद्यार्थीको विवरणमा विद्यालय भर्ना हुँदा प्रत्येक विद्यार्थीलाई दिइने ‘इमिस कोड नम्बर’ उल्लेख गर्नुपर्नेछ । टिम दर्ता सुरु भैसकेको छ भने दर्ता शुल्क एक सय रुपैयाँ राखिएको छ । प्रतियोगितामा ४० भन्दा बढी टिमको सहभागिता हुने अपेक्षा आयोजकको रहेको छ ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद एक लाख ५ हजार रुपैयाँ सहित शिल्ड, पदक र प्रमाणपत्र प्राप्त गर्ने प्रधानाध्यापक पाण्डेले बताए । यस्तै द्वितीय हुने टिमले नगद रु ७० हजार शिल्ड, पदक र प्रमाणपत्र, तृतीय हुने टिमले नगद रु ५० नगद हजार शिल्ड, पदक र प्रमाणपत्र तथा सान्त्वना हुन सफल टिमले नगद रु २५ हजार शिल्ड, पदक र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगितामा अनुशासित एक टिमलाई नगद रु १० हजार र विद्यालयलाई प्रमाणपत्र प्रदान गरिने छ ।
सर्वोत्कृष्ट खेलाडी नगद रु १० हजार, पदक र प्रमाणपत्रसहित पुरस्कृत हुने छन् । उत्कृष्ट स्पाईकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर र उत्कृष्ट डिफेन्डरलाई पनि जनही नगद रु ५ हजार पदक र प्रमाणपत्रसहित पुरस्कृत गरिने जनाईएको छ ।
प्रतियोगिता सञ्चालन गर्न कुल २० लाख ५० हजार खर्च हुने अनुमान गरिएको प्रधानाध्यापक पाण्डेले बताए । कोरियन स्कीन प्रोडक्ट कम्पनी लेट मी ईनको मुख्य प्रायोजनमा हुने प्रतियोगताका लागि पोखरा महानगरपालिका वडा नं. २ को कार्यालय, सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय गण्डकीसँगै पोखराका व्यापारिक प्रतिष्ठानहरूबाट आर्थिक सहयोग प्राप्त हुने अपेक्षा गरिएको छ । प्रतियोगितामा सहभागी खेलाडीहरूको स्वास्थ्यका लागि दीर्घायु हस्पिटल र बीमाका लागि सगरमाथा इन्स्युरेन्ससँग सहमतिको नजिक पुगेको प्रधानाध्यापक पाण्डेले जानकारी दिए ।

प्रतियोगीताबाट बचत हुने रकम विद्यालयको खातामा जम्मा गरि व्यवस्थापन समितिको छलफलबाट आवश्यक काममा खर्च गरिने छ । पहिलो संस्करणमा सामुदायिक विद्यालयलाई मात्र समेटिएको बताउँदै आगामी दिनहरूमा हुने प्रतियोगितामा संस्थागत विद्यालयलाई पनि समेट्ने प्रयत्न रहने पाण्डेको भनाई छ । प्रतियोगिताका लागि तयारी तीव्र पारिएको छ ।
विन्ध्यवासिनी मावि विद्यालय व्यवस्थापन समिति सदस्य एवं प्रतियोगिता मूल आयोजक समिति संयोजक अग्निप्रसाद भुषालका अनुसार पौष २८ गतेसम्म टिम दर्ताको समय रहेको छ । पौष २९ गते प्रतियोगीताको टाईसिट सार्वजनिक गरिने संयोजक भुषालले बताए ।
पोखरा महानगरपालिका खेलकुद विकास समिति र पोखरा महानगरपालिका भलिबल संघ सँगको समन्वयमा प्रतियोगिता सञ्चालन हुन लागेको हो । प्रतियोगिताको लागि सहयोगी संस्था तथा व्यक्त्ति खोज्ने क्रम जारी रहेको छ । यस प्रतियोगिताको आयोजनाले राष्ट्रिय खेल भलिवलप्रति ग्रासरुट लेभलका खेलाडीको रुचि बढ्दै नयाँ खेलाडी उत्पादनमा सहयोग पुग्ने समेत अपेक्षा गरिएको छ । सेमी फाइनल अगाडिका खेल बेष्ट अफ थ्री र सेमीफाइनल र फाइनलका खेल बेष्ट अफ फाइभमा खेलाइनेछ।

वि.सं. २०२१ साल माघ २३ गते स्थापना भएको विन्ध्यवासिनी माध्यमिक विद्यालयमा ईसडी देखि कक्षा १२ सम्म पठनपाठन हुँदै आएको छ । कक्षा ११, १२ तर्फ शिक्षा र व्यवस्थापन संकायको पढाई हुने गरेको छ । झण्डै ६ सय विद्यार्थीले अध्ययन गर्ने यस विद्यालयमा २५ जना शिक्षक तथा कर्मचारी कार्यरत रहेका छन् ।















