पोखरा । पद्या प्रेम थिएटरको प्रस्तुतीमा मञ्चन हुने नाटक ‘मृत्यु यस्तो हुनुहुँदैन’को रिहर्सल पोखरामा जारी रहेको छ । यहीं पौष २४ गते बिहीबारबाट पौष २७ गते आइतबारसम्म मञ्चन हुने नाटकको मञ्चन तयारी अन्तिम चरणमा पुगेको अध्यक्ष सावित्रा पाठक सबुले कोटखबरलाई जानकारी दिइन् । यो नाटकको कथा पाठकले नै लेखेकी हुन् । नाटक मञ्चनलाई लिएर उनी उत्साहित पनि छन् । सबैको साथ सर्पोट र मेहनतका कारण नाटक सुन्दर बन्ने र दर्शकले रुचाउने विश्वास उनको छ ।
यो नाटकको निर्देशन पञ्चसुब्बा गुरुङ र शीतला अधिकारीले गर्दैछन् । नाटकमा शीतला अधिकारी, रोशनी रामदाम, प्रदीप गौतम प्रमोद, अभिषेक भुसाल, प्रतिमा गुरुङ लगायतका कलाकारको अभिनय हेर्न पाइनेछ । नाटकलाई थप आकर्षक बनाउन सङ्गीतमा जय चापागाइँ र अभिषेक भुसालले साथ दिएका छन् । सबैले नाटकलाई परिपक्क बनाउन रिहर्सल मार्फत मेहनत गरिरहेका छन् ।
पोखरा गैह्रापाटनमा रहेको गन्धर्व नाटकघरमा यो नाटक साँझ ५ बजे मञ्चन हुनेछ भने शनिबार दिउँसो १ बजे समेत नाटक हेर्न पाइनेछ । सामाजिक यथार्थ विषयवस्तुलाई नाटकमा प्रस्तुत गर्ने प्रयास गरिएको कारण नाटक हेरेर सल्लाह सुझाब दिन अध्यक्ष पाठक आग्रह गर्छिन् । विषेश गरेर युवा तथा उनीहरूका अभिभावकलाई लक्षित गरेर नाटक तयार पारिएको उनले खुलाइन् । मृत्यु कस्तो चाहिँ हुनु हुँदैन भन्ने बारेमा थाहा पाउन नाटक हेर्नुपर्ने उनको भनाइ छ । नाटक सन्देशमूलक रहेको उनको दावी छ ।
नाटकका निर्देशक पञ्चसुब्बा गुरुङले दर्शकको साथ पाउनको लागि मिहिन ढङ्गले तयारी गरिरहेको काेटखबरसँग बताए । पोखरा थिएटरका संस्थापक सदस्य समेत रहेका उनले धेरै मेहनत गरेर तयार पारिएको यस नाटकलाई हेरेर साथ दिन नाटकप्रेमी दर्शकसँग आग्रह गरेका छन् । यो नाटकले एकल महिलाले सन्तान हुर्काउन गरेको दुःख मात्र नभएर आइपरेका विभिन्न घटना क्रमलाई आकर्षक ढङ्गले पस्कने प्रयास गरेको उनको भनाइ छ । छोराछोरी कसरी कुलतमा फस्न सक्छन् भन्ने मात्र नभएर हुने गरेका विभिन्न हिंसा, साइबर क्राइम लगायतका विषय समावेश गरिएको उनले बताए । नाटकमा वैदेशिक रोजगारमा जाने बेलामा भएको ठगी समेतलाई औँल्याउने प्रयास गरिएको छ । नाटकमा धेरै विषयवस्तु रहेकोले मुख्य सन्देश थाहा पाउन नाटक हेर्न र सुझाब दिन सबैमाझ उनको आग्रह छ ।
त्यसोत पद्या प्रेम थिएटर २०८० भदौ २९ गते स्थापना भएको हो । स्थापना लगत्तै धनिरामको गोरु नाटक मञ्चन गरेको थिएटरले त्यसपछि गतवर्ष जानकी नाटक मञ्चन गरेको थियो । सडक नाटक र स्कुलमा सचेतनामूलक कार्यक्रम समेत गरेर आफ्नो सक्रियता बढाइरहेको छ । मनोरञ्जन मात्र नभएर समाजमा भएका वेतिथिलाई उजागर गर्ने कार्यमा लागिरहेको र निरन्तर लाग्ने थिएटर अध्यक्ष पाठकको प्रतिबद्धता छ ।















