काठमाडौँ ।  जेनजी आन्दोलनका कारण स्थगित भएको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको २२औं संस्करण अर्को साता अर्थात् पुस २३ गते पोखरामा आयोजना हुने भएको छ ।
आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै गत भदौ २९ गते प्रभावित अवार्डको नयाँ मिति तय गरेको हो ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण अन्तिम समयमा अवार्ड स्थगित हुन पुगेको थियो । यसैगरी स्पोर्ट्स अवार्डमा यति एयरलाइन्स नयाँ प्रायोजकका रूपमा जोडिएको पत्रकार सम्मेलनमा मञ्चका अध्यक्ष निरञ्जन अधिकारीले बताए । यति एयरलाइन्सले अवार्डमा सहभागी हुने मनोनयनमा पर्न सफल खेलाडी, प्रशिक्षक र अतिथिलाई सेवा प्रदान गर्नेछ ।

यसैगरी आइतबारकै मितिदेखि अवार्डको महत्वपूर्ण विधाको रुपमा रहेको पिपल्स च्वाइस अवार्डको रोकिएको डिजिटल भोटिङ प्रक्रिया पनि खुला गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

मञ्चका महासचिव अञ्जन खड्काले भने, ‘विगतमा पिपल्स च्वाइसको मनोनयनमा रहेका खेलाडीले जति भोट प्राप्त गरेका थिए । त्यहीँबाट भोटिङ प्रकृया फेरि सुरु हुनेछ ।’ यस विधाको प्रतिस्पर्धामा उसुका विजय सिन्जाली, क्रिकेटकी पूजा महतो, भलिबलका हिमाल सुनारी, फुटबलकी रेखा पौडेल र टेबलटेनिसकी इभाना थापा रहेका छन् ।

स्पोर्ट्स समिट हुने 

स्पोर्ट्स अवार्ड पोखरास्थित पोखरा सभागृहमा हुनेछ । त्यसको अघिल्लो दिन पुस २२ गते पोखरामा एनएसजेएफ स्पोर्ट्स समिट हुनेछ । मञ्चका अध्यक्ष निरञ्जन अधिकारीले अवार्डलाई चलायमान बनाउन स्पोर्ट्स समिट हुने र त्यसमा पोखराको पर्यटन र खेलकुद इकोनोमी बारे बहस हुने जानकारी गराए । अवार्डका अन्य विषयहरू यथावत रहेको र केही नयाँ कम्पनीसँग सहकार्य भएको छ ।

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड– २०८१ मा १० विधामा अवार्ड प्रदान गरिने छ । त्यसमा वर्षको उत्कृष्ट खेलाडी पुरुष, वर्षका उत्कृष्ट खेलाडी महिला, वर्षका उत्कृष्ट खेलाडी युवा, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम अचिभमेन्ट अवार्ड, एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड र टिम अफ द इयर रहेको छ ।

वर्ष खेलाडी पुरुष/महिला, पिपल्स च्वाइस, प्रशिक्षक र युवा गरी पाँच विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल प्रदान गरिनेछ । अन्य विधाका विजेतालाई जनही एक लाख रुपैयाँ प्रदान गरिनेछ । अवार्ड कार्यक्रमलाई सफल बनाउन मञ्चका अध्यक्ष निरन्जन अधिकारीको अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0