पोखरा । नेकपा एमालेका सचिव खगराज अधिकारीले संविधानलाई लिकमा ल्याउनका लागि असंवैधानिक तवरले विगठित प्रतिनिधि सभा पुनस्थापित हुनुपर्ने बताएका छन् । आइतबार प्रेस चौतारी नेपाल कास्की शाखाले पोखरामा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले गरेको संविधान सभा विगठन असंवैधानिक भएको दावी गरे । सुशीला कार्की सांसद नभएकोले प्रतिनिधिसभाले नचिन्ने उनको भनाइ छ ।
प्रतिनिधि सभा पुनस्थापना पछि देशको सहज परिस्थिति निर्माणको लागि एमालेले नेतृत्वको दावी नगर्ने भन्दै जेनजी पुस्ताका युवा समेत सामेल गराएर सर्वपक्षीय सरकार बनाउन सकिने खुलाए । संविधानमा सहमतिका साथ संसोधन गर्न सकिने विषय भए संविधानमा, कानुनमा मात्र संसोधन गरेर हुने भए कानुनमा, संसोधन गरेर निर्वाचन गर्न सकिने रोड म्याप एमालेको रहेको उनको भनाइ छ । देशको घायल भएको संविधानलाई लिकमा ल्याउन सकिन्छ भन्ने स्पष्ट मार्गचित्रका साथ एमालेले यो निष्कर्ष निकालेको उनको दावी छ ।
वर्तमान सरकारले फागुन २१ मा चुनाव गर्न नसक्ने उनले दावी गरे । सरकारले अरु–अरु काम गर्न थाल्दा चुनाव गर्न बनेको सरकार हो भन्ने विश्वास नभएको उनको भनाइ छ । निर्वाचनको लागि बनाएका आचार संहिताका विषयमा दलसँग छलफल नगरिएको भन्दै असन्तुष्टि जनाए । लोकतन्त्रमा दलहरूनै राजनीतिक स्वतन्त्रताका पर्याय भएको उनले प्रष्ट पारे ।
एमाले निर्वाचनबाट भागेको भन्ने भ्रम नपाल्न आग्रह गर्दै जुनसुकै बेला निर्वाचन भएपनि पहिलो पार्टी बन्ने ठोकुवा उनले गरे । फरार कैदी र हतियारका कारण जनतामा त्रास कायम रहेकोले सरकारले पहिला भयरहित वातावरण निर्माण गर्नुपर्नेमा त्यतातिर ध्यान नदिएको गुनासो उनको छ । निर्वाचन जहिले जुनसुकै समयमा भएपनि भयरहित र निष्पक्ष हुनुपर्ने भन्दै त्यसरी हुने चुनावबाट एमाले कहिल्यै नभाग्ने प्रष्ट पारे ।
जेनजी आन्दोलनको बारेमा हुने छानबिनको विरोध एमालेले नगरेको भन्दै समितिमा रहेका व्यक्तिहरूको क्रियाकलापका कारण सबैलाई मान्य हुने छानबिन समिति बनाउन माग गरिएको बताए ।
हालै सरकारले जेनजीसँग गरेको सम्झौता खारेज भागी भएको उनले बताए । अधिकार प्राप्त नभएको सरकारसँग भएको सम्झौता खारेज भागी भएको र सरकारको यो क्रियाकलापले नवयुवा माथि पनि अन्याय भएको उनको भनाइ छ ।
सबैको मायाका कारण कास्की जिल्लाले पहिलोपटक पदाधिकारीको रुपमा आफू पार्टीको सचिवमा निर्वाचित हुन सकेको उनले बताए । यसबाट जिम्मेवारी थपिएको भन्दै सबैलाई साथमा लिएर अगाडि बढ्ने प्रतिवद्धता उनले जनाएका छन् । यो यात्रामा निरन्तर क्रियाशिल हुँदै यस क्षेत्रको सर्वाङ्गीण विकासको लागि सबैको अमुल्य सुझाबको आधारमा केन्द्रसम्म आवाज पुर्याउने कार्यमा लाग्ने उनको प्रण छ ।
पोखराको पर्यटन क्षेत्रलाइ अगाडि बढाउन क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलबाट अन्तराष्ट्रिय उडान हुनुपर्नेमा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका अधिकारीकाे जोड छ । पाेखरा विमानस्थलबारे अहिले भइरहेको छानबिन सकारात्मक भएपनि त्यसको नाममा पोखराको एयरपोर्टमा अन्तरराष्ट्रिय उडान हुन नदिने काई गर्न नहुने बताए ।
कुनै पनि आन्तरिक वा बाह्य रुचिका कारण अन्तराष्ट्रिय उडान रोकिन्छ भने त्यो मान्य नहुने उनको चेतावनी थियो । पोखरामा नियमित अन्तराष्ट्रिय उडान भर्न ओली सरकारले गरेको प्रयासले आशा जगाएको उनले स्मरण गरे। पर्यटनको राजधानीको रुपमा रहेको पोखराको पर्यटन क्षेत्रलाई चलायमान बनाउन हरक्षण प्रयत्नरत रहने उनको प्रतिवद्धता छ ।
प्रेस चौतारी कास्कीका उपाध्यक्ष गिरीधारी पाेखरेलकाे अध्यक्षतामा भएकाे पत्रकार सम्मेलनको सञ्चालन सचिव अनुप पौडेलले गरेका थिए ।










