पोखरा । नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिको आयोजनामा ‘गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धनमा मिडियाको भूमिका’ विषयक अन्तरक्रिया सम्पन्न भएको छ । अन्तरक्रियाका वक्ताले गण्डकी प्रदेशको पर्यटकीय क्षेत्रको प्रवर्द्धन तथा नयाँ गन्तव्य पहिचानमा मिडियाको भूमिका महत्वपूर्ण हुने विषयमा जोड दिए । पर्यटनसम्बद्ध सङ्घसंस्थाका प्रतिनिधिको उपस्थिति रहेको कार्यक्रममा पर्यटन व्यवसायीले समग्र गण्डकीको देशविदेशमा प्रचारप्रसारमा महासङ्घसँग मिलेर अघि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।
महासङ्घअन्तर्गत गण्डकीका जिल्ला अध्यक्ष, सचिव र कोषाध्यक्षहरूको दुईदिने भेला अवसरमा शनिबार पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान) पोखरासमेतको सहकार्यमा उक्त कार्यक्रम भएको हो ।
कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा पर्यटकीय राजधानी घोषणा भइसकेको र पोखरासहित समग्र गण्डकीकै पर्यटन प्रवर्द्धनमा मिडियाको भूमिका महत्वपूर्ण भएको उल्लेख गरे । हाल पोखरा भ्रमण वर्ष–२०२५ पनि चलिरहेको जनाउँदै महासङ्घसँग आगामी दिनमा पनि सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए ।
पोखरा पर्यटन परिषद्का प्रथम उपाध्यक्ष हरि भुजेलले ओझेलमा परेका तथा नयाँ नयाँ पर्यटकीय गन्तव्य पहिचानमा ‘मिडिया आवाजविहीनको आवाज’ मिडियाबाट सघाउ पुगेको बताए । सोसल मिडिया, भ्लगहरु, टिकटकसमेत पछिल्लो समय पर्यटन प्रवर्द्धनको भागीदार बन्दै गएको उनको भनाइ थियो । गण्डकीका सबै जिल्लाका पत्रकारसँग अन्तरक्रियाको अवसर जुटाइदिएकोमा महासङ्घप्रति खुसी व्यक्त गर्दै भुजेलले भने, ‘पर्यटनको राजधानी पोखरामा यसप्रकारको पहिलो कार्यक्रम हो, तर अन्तिम नहोस् ।’ विश्वमा पर्यटन चलायमान हुनुमा ७५ प्रतिशत हात मिडियाको रहेको पनि तथ्य प्रस्तुत गरे । उनले विभिन्न जिल्लाका ऐतिहासिक, धार्मिक, भौगोलिक महत्वका विषयवस्तुबारे जानकारी मिडियाले दिनेमा अपेक्षा गर्दै भविष्य पनि हातेमालो गरेर अघि बढ्न तयार रहेको बताए ।
रेवान पोखरा महासचिव वीरेन्द्र शेरचनले अर्को साता हुने २७ औं पोखरा सडक महोत्सव तयारीमा आफूहरू जुटेको जानकारी दिँदै यसबाट जाडोयाममा सुस्ताउने पोखराको पर्यटनमा सडक महोत्सवले प्रवर्द्धन गरेको बताए । यही पुस १३ देखि १७ गतेसम्म हुने सडक महोत्सव सफल पार्न मिडियाबाट विगतमा झैं व्यापक प्रचारप्रसारको अपेक्षा गरे ।
टान गण्डकी अध्यक्ष कृष्णप्रसाद आचार्यले टान ११ वटै जिल्लामा फैलिएको र जहाँ गए पनि पर्यटन प्रवर्द्धनमा मिडियाबाट सहयोग हुने गरेको बताए । संरक्षित क्षेत्रमा जाँदा ध्यान दिनुपर्ने उल्लेख गर्दै उनले हिमालको ५ किमी वरिपरि बाटो तथा हाइड्रो जान नहुने बताए । ट्रेकिङका क्रममा यदि कुनै मानवीय क्षति हुन गए त्यसको बदनाम नेपालकै हुने भएकाले ध्यान दिनुपर्ने उनको सुझाव थियो ।
नाट्टा महासचिव संगीता पौडेलले पर्यटनमा ठूलो लगानी गरेर संरचना खोलिएको, तर त्यसको प्रतिफल अझै पाउन नसकिएको गुनासो गरिन् । मिडियाले पर्यटन प्रवद्र्धनमा कलम चलाएमा गण्डकी प्रदेशकै पर्यटनमा टेवा पुग्ने उनले बताइन् ।
प्रेस चौतारी गण्डकी अध्यक्ष इन्द्रप्रसाद पौडेलले पर्यटन क्षेत्र संवेदनशील भएकाले मिडियाले पनि सत्य, तथ्य र निष्पक्ष रुपमा कलम चलाउनुपर्ने बताए । उनले भने, ‘यदि नकारात्मक सन्देश प्रवाह भए क्षणभरमै पर्यटनमा कैयौ बुकिङ रद्ध हुने अवस्था हुन्छ । तसर्थ मिडियाकर्मीले पनि ध्यान दिनपर्छ ।’
नेपाल पत्रकार महासङ्घ अध्यक्ष निर्मला शर्मा, महासचिव रामप्रसाद दाहाललगायतले पर्यटनको प्रवर्द्धनमा पत्रकार महासङ्घ केन्द्र पनि सहकार्य गर्न सधैँ तयार रहेको बताए ।
सो अवसरमा पत्रकार महासङ्घ केन्द्रीय सदस्य केवी राना, पत्रकार महासङ्घ म्याग्दी अध्यक्ष हरिकृष्ण गौतम, तनहुँ अध्यक्ष डिपी अधिकारी, पत्रकार महासङ्घ गण्डकीका निवर्तमान सचिव यदुनाथ बञ्जारा, प्रेस सेन्टर कास्की अध्यक्ष दीननाथ बराल लगायतले विभिन्न जिज्ञासा राखेका थिए ।
पत्रकार महासङ्घ गण्डकी प्रदेश समिति अध्यक्ष रमेश पौडेलले पोखरालाई केन्द्रमा राखेर गण्डकी प्रदेशभर विभिन्न पर्यटकीय गतिविधि सञ्चालन एवं प्रवर्द्धनमा मिडियाले सरोकारवालासँग सहकार्य गर्न तयार रहेको बताए ।
महासङ्घ गण्डकी उपाध्यक्ष प्रकाश पौडेलले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको संचालन महासचिव जमुना वर्षा शर्मा र धन्यवाद ज्ञापन महिला उपाध्यक्ष माया अधिकारीले गरिन् ।
कार्यक्रममा टेवान अध्यक्ष शोभा पाण्डे, गाउँ पर्यटन प्रवर्द्धन मञ्च अध्यक्ष शोभा सापकोटा, एगा पोखरा अध्यक्ष गोकर्ण लम्साल, नाका अध्यक्ष अनिल केसी लगायत पर्यटनसम्बद्ध विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, महासङ्घ जिल्लाका अध्यक्ष, सचिव, कोषाध्यक्ष, एवं पत्रकारलगायतको उपस्थिति थियो ।










