पोखरा । पोखरामा आगामी फागुनमा धनबहादुर गुरुङ साङ्गीतिक साँझ हुने भएको छ । नेपाली गीतसङ्गीत क्षेत्रमा लाई आफ्ना सिर्जनाहरू प्रदान गर्दै राष्ट्रको कला, संस्कृति र साङ्गीतिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्न अतुलनीय योगदान पुऱ्याएका गायक, सङ्गीतकार र सङ्गीत संयोजक कलाकार धन बहादुर गुरुङको बहुआयामिक योगदानको उच्च कदर र सम्मान स्वरूप कार्यक्रम गर्न लागिएको हो ।
तमु (गुरुङ) कलाकार सङ्घ नेपाल, गण्डकीको आयोजनामा फागुन ३ गते पोखरा रङ्गशालामा कार्यक्रम हुने भएको बिहीबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । कार्यक्रमका संयोजक समेत रहेका गण्डकी प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति गोरे गुरुङका अनुसार वरिष्ठ कलाकार गुरुङको सम्मान र ‘तमु कलाकार कल्याणकारी कोष’ स्थापना गर्ने उद्देश्यले विशेष साङ्गीतिक कार्यक्रम आयोजना गर्न लागिएको हो । कार्यक्रमको तयारी सुरु भएको उनले जनाए ।
हालसम्म ५ हजारको हाराहारीमा गीत सङ्गीत सिर्जना गरिसकेका स्रष्टा धनबहादुर गुरुङले कार्यक्रमलाई लिएर उत्साहित भएको बताए । सबैको साथ सपोर्टका कारण कार्यक्रम भव्य बन्ने उनको विश्वास छ ।
उक्त साङ्गीतिक कार्यक्रम सम्पन्न गर्न १७ लाख ५० हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको आयोजक संस्थाका अध्यक्ष विक्रम गुरुङले जानकारी दिए । साथै कार्यक्रमबाट ११ लाख ७५ हजार रुपैयाँ बचत गर्ने लक्ष्य राखिएको छ । उक्त बचत रकमबाट पवित्र, दीर्घकालीन र सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्यले कल्याणकारी कोष स्थापना गरिने समितिले उल्लेख गरेको छ ।
कार्यक्रमले एक व्यक्तिको सम्मान मात्र नगरी तमु समुदायको मौलिक कला, संस्कृति, भाषा र सङ्गीतको प्रवर्द्धन गर्दै समग्र नेपाली साङ्गीतिक क्षेत्रको गरिमा अभिवृद्धि गर्ने विश्वास आयोजकले विश्वास लिएको छ । कार्यक्रम हेर्नको ३ सय रुपैयाँको टिकट काट्नुपर्नेछ ।









