पोखरा । नेपाली काङ्ग्रेस प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं १ कास्कीले नेका कास्कीका सभापति किशोरदत्त बरालको अवैध र मनोमानी कार्यको खेद व्यक्त गरेको छ । समितिले सोही विषयमा सन्दर्भमा नेपाली काङ्ग्रेस गण्डकीका सभापति शुक्रराज शर्माको ध्यानाकर्षण गराएको छ ।
मंसिर २१ गतेदेखि निरन्तर उम्मेदवार छनौटका लागि भेला र छलफल जारी रहेको बेलामा बरालले मनोमानी तवरले माथिल्लो निकायमा नामावली पेश गरेको भन्दै त्यसको खेद व्यक्त गरेको सभापति राजेन्द्रमणि लामिछानेले जारी गरेको प्रेस नोटमा लेखिएको छ ।
आइतबार मंसिर २८ गते पनि उम्मेदवार र क्षेत्रीय कार्य समितिबीच छलफल चलिरहेको अवस्थामा बरालले कास्की क्षेत्र नं १ को उम्मेदवारको नामावली पेश गरेको बुझिएको छ ।
क्षेत्र नं १ ले नाम सिफारिस नगरीकन बरालद्वारा माथिल्लो निकायमा मनोमानी तरिकाले नामावली पेश गरेकोले नेकाको विधानले समितिलाई नै नाम सङ्कलन र सिफारिस गर्ने अधिकार भएको हुँदा जिल्ला सभापतिको सिफारिस अवैध भएको उल्लेख गरेको छ ।
सभापति लामिछानेले केन्द्रको पछिल्लो स्पष्ट परिपत्रले उम्मेदवार छनौट सङ्ख्यामा सहमति, सहकार्य गरेर निष्कर्ष निकाल्ने वातावरण बनाउन छलफल चलिरहेको उल्लेख गरेका छन् ।
यसरी छलफल चलिरहेको बेलामा अकस्मात् जिल्ला सभापति बरालको क्रियाकलापले पार्टीलाई अपुरणीय क्षती र तमाम कार्यकर्ताको मनोबल गिरेको उनको भनाइ छ ।
लामिछानेले यस्ता गतिविधि र व्यक्तिगत लहडमा नलाग्न अनुरोध गरेका छन् । उनले क्षेत्रले सिफारिसका लागि सङ्कलन गरेको नामावली उल्लेख गरेका छन् भने अन्य प्रक्रिया बाँकी रहेको जनाएका छन् ।
लामिछानेले यस विषयमा आइतबार नै नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मालाई ध्यानाकर्षण पत्र लेख्दै कास्की सभापति बरालको मनोमानी क्रियाकलापले पार्टीलाई अपुरणीय क्षती हुने जनाएका छन् ।

















