पोखरा ।  नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेशले कास्कीका पत्रकारसँग बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया गरेको छ । बीमाको आवश्यकता र महत्वलाई विशेष प्राथमिकतामा राखेर प्राधिकरणले मङ्गलबार नेपाल पत्रकार महासङ्घ कास्कीका पत्रकारसँग छलफल तथा अन्तरक्रिया गरेको हो । बीमाको विषयमा जानकारी सहितको प्रस्तुती रहेको अन्तरक्रियामा बीमासँग सम्बन्धित बिमित कम्पनीका प्रतिनिधिहरू र कास्कीमा रहेर पत्रकारिता गरिरहेका पत्रकारहरूको उपस्थिति रहेको थियो ।

 अन्तरक्रियामा नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेशका प्रमुख शम्भु प्रसाद मिश्रले बीमा र गण्डकी प्रदेशको अवस्थाका विषयमा प्रस्तुती राखेका थिए । आर्थिक दायित्वबाट सुरक्षित रहन र जोखिम हस्तान्तरण गर्न बीमाको उपयोग सबैले गर्नुपर्ने उनले सुझाए । साथै बिमाको महत्व निकै ठुलो रहेको हुँदा बीमाको बारेमा सञ्चारकर्मीले प्रचारप्रसार गरि आम सर्वसाधारणसम्म जानकारी पुराइदिन समेत मिश्रले आग्रह गरे । उनले प्रदेश सरकार, उद्योग वाणिज्य सङ्घ, महिला समुह मात्र नभएर विद्यार्थीसँग समेत अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने गरेको बताए ।

प्रमुख  मिश्रले बीमा सम्बन्धी केही गुनासा आएमा वास्तविकता बुझेर मात्र सामाग्री प्रकाशन प्रसारण गरिदिन सञ्चारकर्मीसँग आग्रह गरे । सबैको साथ सहयोगमा गण्डकी प्रदेशले बीमा क्षेत्रमा फड्को मार्न सक्ने उनको विश्वास छ । अन्तरक्रिया छलफल लगायतका कार्यक्रम निरन्तर आयोजना गर्ने प्रतिबद्धता पनि उनले जनाए ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासङ्घ गण्डकीका अध्यक्ष रमेश पौडेलले आम जनतामाझ बीमाको विषय अझै बुझाउन नसकिएको तथा बीमालाई झण्झटरहित सेवामुखी बनाउनु पर्नेमा जोड दिए । 

अन्तरक्रिया कार्यक्रममा नेपाल इन्स्युरेन्स प्रोफेसनल सोसाइटी पोखरा च्याप्टरका अध्यक्ष बद्रिनाथ पौडेल, नेपाल सर्भेयर एशोसियसन कास्कीका संयोजक बुद्धिराज अधिकारी, रामजी प्रसाद बराल, बिनोद सापकोटालगायतले आफ्नो मन्तव्य राखेका थिए । 

प्राधिकरण गण्डकीका प्रमुख शम्भु प्रसाद मिश्रको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य कविता पाण्डेले गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन प्राधिकरणका सहायक प्रथम बलराम लामिछानेले गरेका थिए । 

अन्तरक्रिया कार्यक्रममा उपस्थित सञ्चारकर्मीले बिमाका विषयमा बिमितले भोगेका समस्याको विषयमा आवाज उठाएका थिए । भुक्तानी प्रक्रिया निकै झन्झटिलो भएकाले सेवालाई छिटो छरितो बनाउनुपर्ने जोड सहभागीको थियो । उनीहरूले आम सर्वसाधारणले भोग्नुपरेको समस्या सँगै आफूले भोगेका समस्या, प्राधिकरण सहित बीमा कम्पनीको लागि विभिन्न सुझाब सहित जिज्ञासा समेत राखेका थिए ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0