पोखरा । मानव अधिकारको विश्वव्यापी घोषणापत्रलाई स्थानीयकरण गरी नागरिक समाजका तर्फबाट सरकार र सम्बन्धित पक्षलाई जबाफदेही बनाउने उद्देश्यले ‘१७औँ राष्ट्रिय मानव अधिकार महाभेला, २०८२’ पोखरामा पनि सुरु भएको छ ।
महाभेलाको पहिलो दिन पोखरामा भएको रक्तदानमा २६ युनिट रगत सङ्कलन भएको छ । मानव अधिकारका लागि महिला एकल महिला समूहको संयोजकत्वमा भएको रक्तदानमा रेडक्रस, इन्सेक, कोपिला नेपाल, एकीकरण नेपाल, एजिङ नेपाल, एडभोकेसी फोरम, ह्युमन राइट्स एलाईन्सलगायत मानवअधिकारवादी सङ्घसंस्थाहरूको सहभागिता रहेको थियो । जिसस कास्कीका प्रमुख लिलाधर पौडेलको प्रमुख आतिथ्यतामा पोखरामा महाभेलाको उद्घाटन गरिएको हो ।
कार्यक्रममा बोल्दै मानव अधिकारका लागि महिला एकल महिला समूह गण्डकी संयोजक प्रमिला तझ्याले सोमबार गण्डकी प्रदेशभरि नै रक्तदान कार्यक्रमहरू गरिएको जानकारी दिइन् । आजदेखि आगामी आइतबार सम्म सप्ताहव्यापी महाभेला सञ्चालन हुने उनले बताइन् ।
राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश प्रमुख नितु गर्तौलाले हरेक मानवले जीवन जिउन पाउने अधिकार पाएको बताउँदै रक्तदानले जीवनको अधिकारलाई सुनिश्चित गर्ने बताइन् । रक्तदान गरेर जीवनको अधिकार सुनिश्चित र सम्मान गर्न उनले आग्रह गरिन् ।

नेपाल रेडक्रस सोसाइटी कास्कीकी सभापति उर्मिला खड्काले रेडक्रसमा ५ सयभन्दा बढि सङ्घसंस्थाले वार्षिक रुपमा रक्तदान कार्यक्रम गर्दै आएको बताइन् । रक्तदान प्रत्येक तीन महिनाको अन्तरालमा गर्न सकिने बताउँदै १८ वर्षदेखि माथि र ६० वर्ष मुनिका स्वस्थ व्यक्तिले रेडक्रसकै कार्यालयमा आएर जुनसुकै समयमा पनि रक्तदान गर्न सक्ने बताइन् ।
कार्यक्रममा गैसस गण्डकी इन्चार्ज गोपाल खड्का, रेडक्रस कास्कीका निवर्तमान अध्यक्ष डण्डराज शर्मा, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय गण्डकीका उपसचिव सुरण पौडेल, मानवअधिकार एलायन्स गण्डकीका अध्यक्ष डा। बुद्धिबहादुर थापा लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन इन्सेक गण्डकी प्रमुख गणेश भण्डारीले गरेका थिए ।
मानव अधिकार दिवसको सन्दर्भमा मङ्गलबार भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस, बुधबार मानव अधिकार दिवसको अवसरमा चिप्लेढुङ्गा स्थित मानव अधिकारचोकबाट पोखरा सभागृहसम्म प्रभातफेरी र्याली शुभकामना मन्तव्यसहित समापन, मानव अधिकार, स्वतन्त्र र स्वच्छ निर्वाचनबारेमा अन्तर पुस्ता संवाद, दीप प्रज्वलन लगायतका कार्यक्रम तय गरिएको बताइएको छ ।











