पोखरा । पोखरामा पहिलो पटक हुन लागेको केज फाइटको तयारी तीब्र पारिएको छ । पर्यटकीय राजधानी पोखरालाई थप नयाँ गन्तव्यको रुपमा स्थापित गर्नका लागि कन्टेन्डर फाइट सिरिजको तेस्रो संस्करणमा नयाँ विधा थप गरिएको हो । साक यान्त मुवाथाईकोको आयोजनामा हुन लागेको प्रतियोगिताका खेलाडीले विभिन्न विधामा गरि १२ लाख रुपैयाँ भन्दा बढि पुरस्कार प्राप्त गर्नेछन् । 

पुसको १२ गते हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाल वारियर सिरिजले समेत सहकार्यमा हुन लागेको हो । फाइटको प्रबर्द्धन गर्दै पर्यटकलाई थप मनोरञ्जन दिनका लागि केज फाइटको आयोजना गर्न लागिएको हो । कार्यक्रम संयोजक तथा साक यान्त मुवाथाई नेपालका सञ्चालक खगेन्द्र छेत्रीका अनुसार प्रतियोगितामा नेपाल, भारत र श्रीलङ्काका अनुभवी फाइटरहरू सहभागी हुनेछ ।

 प्रतियोगितामा २५ वटा प्रोफेसनल फाइट राखिएको छ । खेलकुदमार्फत पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको क्षेत्रीले बताए । प्रतियोगिता खेल्नका लागि सबै फाइटर पुसको १० गते पोखरा आइपुग्नेछन् । पुस ११ गते तौल मापन र प्राविधिक प्रकृया पुरा हुनेछ भने १२ गते मुख्य इभेन्टको आयोजना हुनेछ । 

संयोजक क्षेत्रीका अनुसार यस्ता प्रतियोगिताले नेपाली फाइटरलाई अन्तर्राष्ट्रिय स्तरमा उदाउने महत्वपूर्ण आधार दिनेछ । ‘रबिन्द्र ढाँट र सुस्मिता थापा जस्ता प्रतिभाशाली खेलाडीहरू यस्तै फाइटका कारण उदाएका छन्, यो अवसर हो’ उनले भने ।  क्षेत्रीका अनुसार सुस्मिता थापाले यस पटक मुख्य इभेन्टमा प्रतिस्पर्धा गर्नेछिन् । प्रतियोगिता सम्पन्न गर्न करिब २५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0