पोखरा । हालै निर्वाचन आयोगमा दर्ता भएको गतिशील लोकतान्त्रिक पार्टी (गलोपा)ले पर्यटन क्षेत्रको भिजन सहित पार्टी दर्ता गरेको जनाएको छ । उसले नेपालमा एक वर्षमा ५० लाख पर्यटक भित्र्याउने भिजन सहितका कार्यक्रम मार्फत देशभर छलफल र भेटघाटका कार्यक्रम गरेको छ । यसैक्रममा मङ्गलबार पोखरामा ‘पर्यटनमय अर्थतन्त्र’ अन्तरक्रिया कार्यक्रम मार्फत आफ्ना योजना पोखरेलीलाई सुनाए ।
कार्यक्रममा बोल्दै बुद्ध एअरका सञ्चालक तथा गतिशील लोकतान्त्रिक पार्टीका संस्थापक तथा केन्द्रीय सदस्य वीरेन्द्र बस्नेतले जेन जी आन्दोलनको कारण र रहरले राजनीतिमा नआएको बताए । उनले आफ्नो घरको चुल्हो बाल्नका लागि नभई भावी पुस्ताको सुख र समृद्धिका लागि राजनीतिक दल खोलेको दावी गरे । मुलुकको आर्थिक उन्नतिका लागि पार्टी खोलेको बताएका उनले जेन जीको आन्दोलनका कारण राजनीतिमा आएको भन्ने सत्य नरहेको बताए । कुनै रहरले पनि राजनीतिमा नआएको उनको भनाई थियो ।
अहिले राजनीतिक पार्टीहरूबीच जेन जीको बलिदान बिर्सिएर राजनीति गर्न थालिएको बस्नेतले बताए । मुख्य कुरा नेपालमा बेरोजगारी रहेको र त्यसैको उपजका कारण जेन जी आन्दोलन हुन पुगेको उनको भनाई छ । अहिले भन्दा ५ गुना बढी पर्यटक भित्राउन सकिने र मर्यादित र उच्च आय हुने रोजगारी आफ्नो पार्टीको भिजन रहेको उनले सुनाए । भूराजनीतिक कारणले पोखरा विमानस्थल पूर्णरुपमा सञ्चालन हुन नसकेको भन्दै उनले यसमा राजनीतिक इच्छाशक्ति र भूराजनीतिक समझदारी हुनुपर्ने बताए ।
गतिशील लोकतान्त्रिक पार्टी अध्यक्ष दिनेशराज प्रसाईंले जेन जी आन्दोलनले नेपालको राजनीति, अर्थतन्त्र, समाज र संस्कृति पुरानो तरिकाले चल्दैन भन्ने देखाएको बताए । मुलुकको राजनीतिमा सुधार नभएमा समाज र अर्थतन्त्र सुधार नहुने भन्दै उनले बिसं. १९९७ सालदेखि प्रत्येक १०– १२ वर्षमा ठूला राजनीतिक आन्दोलन हुने गरेको र प्रत्येक आन्दोलन हिंसात्मक भएर देशमा अस्थिरता उत्पन्न भइरहेको जनाए ।
जेन जी आन्दोलन यति ठूलो मात्रामा होला जस्तो नसोचेको तर राजनीतिक दलहरूको शैली र व्यवहारले नेपाली समाज एउटा दुर्घटनामा पुग्न सक्ने भने लागेको उनले बताए । आफूहरूले २०८४ को निर्वाचनमा भाग लिने गरी २०८३ बैशाखमा पार्टी घोषणा गर्ने ३ वर्ष अघिदेखि नै योजना बनाए पनि जेन जी आन्दोलनलगत्तै पार्टी घोषणा गर्नुपरेको खुलासा उनले गरे । नेपालको निजी क्षेत्रमा जेन जी आन्दोलनमा जस्तो आक्रमण यसअघि नभएको उनको भनाई थियो । दलहरूले जनतामाझ गरेका बाचा पूरा नगर्दा पटकपटक आन्दोलन हुँदै आएको कुरालाई अब मनन गर्नुपर्ने उनको भनाइ छ ।
गलोपा केन्द्रीय सदस्य ज्ञानेश्वर महतोले देश विकासको मुख्य आधार पर्यटन रहेको बताए । उनले भारतको अयोध्यामा एक वर्षमा २२ करोड बढी पर्यटक पुग्ने आंकडा प्रस्तुत गर्दै त्यसको १० प्रतिशतमात्रै भए पनि नेपाल भित्राउन सोही अनुसार योजना र पूर्वाधार आवस्यक रहेको बताए ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन हुन नसक्नुमा अहिले ‘जियो–पोलिटिकल मुख्य चुनौती’ रहेको टिप्पणी कार्यक्रममा गरिएको थियो । कार्यक्रम मार्फत गलोपाले आगामी निर्वाचनमा आफ्नो पार्टी सक्रियतापूर्वक सहभागी हुने स्पष्ट संकेत दिएको छ। जसका लागि छलफल निरन्तर भइरहेको र घोषणापत्रको अन्तिम तयारी भइरहेको सो पार्टीले जनाएको छ । संवाद कार्यक्रममा पोखराको पर्यटन क्षेत्र सहित व्यवसायीक क्षेत्र राजनीतिक क्षेत्र शैक्षिक क्षेत्र सञ्चार क्षेत्र लगायतमा क्रियाशिल व्यक्रतिहरूको सहभागीता रहेको थियो । उनीहरुले केही जिज्ञाशा र सुझाब समेत राखेका थिए।










