पाेखरा । पोखरा १२ पुरानोधारामा रहेको चापापानी सिद्धार्थ बचत तथा ऋण सहकारी संस्थाले विभिन्न सहकारीहरूको अध्ययन अवलोकन भ्रमण गरेको छ । सहकारीले कास्की तथा लमजुङ जिल्लाका विभिन्न ठाउँमा पुगेर त्यहाँ रहेका सहकारी तथा लमजुङ जिल्लाको पर्यटकीय ठाउँ राईनासकोटको भ्रमण गरेको हो ।
विभिन्न ठाउँमा रहेका सहकारीले गरेका गतिविधि, कार्यक्रम र क्षेत्रका विषयमा जानकारी लिई आवश्यकता अनुसार आफ्नो सहकारीमा प्रयोग गर्ने उद्देश्यले अध्ययन अवलोकन गरिएको बताउँदै सहकारीका अध्यक्ष दीपक कार्कीले संस्था नीति , विधि र प्रविधिलाई आत्मसाथ गर्दै दिगो संस्था र समृद्ध सदस्य बनाउने लक्ष्यमा अगाडि बढ्दै गर्दा यस प्रकारका भ्रमणहरूले सञ्चालक समिति कर्मचारीहरूलाई थप ताजगीका साथ क्षमतावान बनाउँदै लैजाने विश्वासका साथ आगामी दिनहरूमा यस्तै प्रकारका भ्रमणहरू वार्षिक रुपमा सञ्चालन गरिने बताए ।
सहकारीको भ्रमण टोलीलाई स्वागत गर्दे राईनासकोट नगरपालिकाका नगर प्रमुख खड्ग बहादुर गुरुङले राईनासकोटको पुरानो इतिहास बताउँदै पुराना सम्पदा तथा इतिहासलाई जोगाउन सके त्यसबाट आन्तरिक पर्यटक तथा बाह्य पर्यटकहरूलाई आकर्षण गर्न सकिने बताए । नगर प्रमुख गुरुङले चापापानी सिद्धार्थ सहकारीले आफ्नो अध्ययन अवलोकन भ्रमणको लागी लम्जुङ जिल्ला र विशेषगरि राईनासकोटलाई रोजेकोमा धन्यवाद दिए।
कार्यक्रममा सहकारीका उपाध्यक्ष श्यामप्रसाद साँखी,सहकारीकी सचिव ईन्दिरा कोइराला सहकारीकी व्यवस्थापक करुणा शाही लगायतले सहकारीको अध्ययन अवलोकन भ्रमणको उद्धेश्य र आवश्यकता माथि प्रकाश पारेका थिए ।
२ दिने सहकारीकाे अध्ययन अवलोकन भ्रमणमा सञ्चालक समिति, लेखासमिति, अन्य उपसमिति, सल्लाहकार र कर्मचारी गरी २८ जनाको टोलीले अध्ययन अवलोकन गरेर फर्किएको सहकारीका शिक्षा संयोजक मनोहरि पौडेलले बताए । वित्तिय क्षेत्रमा जिल्लामै अग्रणी भूमिका खेल्दै आएको सहकारीले यस वर्ष सहकारीका शेयर सदस्यहरूलाई पनि अध्ययन अवलोकन भ्रमण गराउने सहकारीका ऋण संयोजक गुप्त बहादुर कार्कीले बताए ।
आफ्ना शेयर सदस्यहरूको आर्थिक समृद्धिको मेरुदण्ड सहकारी भएकाले पनि आनन्दले शेयर सदस्यहरूमा सामूहिक भावनाको विकास गरी उपलब्ध श्रम, सीप, श्रोत साधन, पुँजी र प्रविधिको माध्यमबाट समृद्धिको यात्रालाई पहिल्याएको र वित्तीय सहकारी अभियानमा जागरण, सशक्तिकरण, व्यवसायिकीकरण, गुणस्तरिय सुनिश्चिता, संस्थागत वृद्धि र निरन्तर समृद्धिको खाका तय गर्दै सहकारी अगाडि बढीरहेको सहकारीका अध्यक्ष दीपक कार्कीले बताए ।










