पोखरा । पोखरामा शनिबार छैटौँ योःमरी महोत्सव सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नं ४ को आयोजना, नेवा मिसा: पुच: कास्कीको आह्वान र पोखरा ४ का नेवा मिसाः पुचःहरूको सहकार्यमा महोत्सव सम्पन्न भएको हो ।
पोखरा ४ गणेशटोलमा भएको उक्त महोत्सवमा बोल्दै प्रमुख अतिथि पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरा ४ ले योःमरी महोत्सवलाई सांस्कृतिक चाडका रुपमा स्थापित गरिसकेको बताउँदै संस्कृति संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने बताए । पोखराको पुरानो बजारका रुपमा रहेको रामकृष्ण टोल, गणेशटोललगायत वडाभित्र भएका टोलहरूलाई हेरिटेज साइट बनाउन विज्ञहरूले डिजाइन सुरु गरिसकेको जानकारी दिए ।
पोखरामा दिगो पर्यटन विकासका लागि सहयोग पुराउन एडीबीको सहयोगमा साढे ७ अर्बको परियोजनाहरू सुरु भएको बताउँदै सोही अन्तर्गत सिद्धार्थचोक देखि नालामुखसम्म हेरिटेज साइट बनाइने बताए । १८ महिनामा काम सक्नेगरी यहि वर्षदेखि काम सुरु गर्ने बताउँदै ब्याक टू कल्चरल अभियानमा साथ दिन स्थानीयलाई आग्रह गरे । मौलिकता जोगाउन सकेमात्र समाजमा पहिचान रहिरहने उनको भनाई छ ।
महोत्सवमा कास्कीका मिसाः पुचःहरुले विभिन्न थरीका योःमरी प्रदर्शनका लागि ल्याएका थिए । सबैभन्दा ठूलो योःमरी प्रदर्शनसँगै योःमरी प्रतियोगिता, झाँकी र्याली प्रतियोगिता, विद्यार्थीहरूबीच नृत्य प्रतियोगिता समेत भएको थियो ।
पोखरा ४ का वडा अध्यक्ष देवकृष्ण पराजुलीले वडामा जनप्रतिनिधिका रुपमा निर्वाचित भएर आएपछि वडावासीको जनभावनाअनुरूप विकास निर्माण र संस्कृति संरक्षणका काम गर्दै आएको बताए । वडाको विकास भयो तर महानगरको भएन भन्ने भाष्य निर्माण गरिएको बताउँदै त्यसको खण्डन गरे । उनले मौलिक कला संस्कृति संरक्षणमा वडाले विशेष जोड दिदैँ आएको बताउँदै यो वर्ष शिवरात्रि महोत्सव पनि आयोजना गर्न लागिएको जानकारी गराए ।

महोत्सवको अवसरमा गत भदौमा भएको कास्की जिल्लास्तरीय तायाःमचा नृत्य प्रतियोगितामा प्रथम भएको गैह्रापाटन नेवा समाज र वडा नं. ४ मा लामो समय स्वास्थ्य स्वयमसेविकाको रुपमा सेवा गरेकी विष्णु कोइरालालाई सम्मान गरिएको छ । महोत्सवमा नेवा मिसा: पुच: कास्कीकी अध्यक्ष सङ्गीता बज्राचार्यले यो:मरिको बारेमा प्रकाश पारिन् ।
कार्यक्रममा नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखे, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रनाउ नवीन कार्की, पोखरा ११ का वडाअध्यक्ष प्रेम प्रसाद कर्माचार्य, पोखरा ९ का वडाअध्यक्ष दिपेन्द्र मर्सानी, नेपाली काँग्रेस पोखरा ४ का सभापति गोविन्द पराजुली, नवीन उच्च मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष सिरोज कोइराला लगायतले बोलेका थिए । सञ्चारकर्मी सञ्जय कुमार मल्ल र नेवा मिसाः पुचः कास्कीकी महासचिव किरण बिजुक्छेले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य पोखरा वडा नं ४ का जनप्रतिनिधि प्रकाश कोइरालाले गरेका थिए ।
महोत्सवमा लक्ष्य ब्याण्डसहित विभिन्न स्थानीय ब्याण्डहरूले लाइभ साँगीतिक प्रस्तुती समेत दिएका थिए। यसअगाडि गणेशटोलबाट सुरु भएको झाकी र्याली ग्रैहापाटन,पालिखेचोक, महेन्द्रपुल, चिप्लेढुंगा, सिद्धार्थचोक,रामकृष्ण टोल हुँदै गणेश टोलमा आएर समापन भएको थियो ।










