पोखरा । नेपाली कम्युनिस्ट पार्टीले मंसिर १४ गते आइतबार पोखरामा गण्डकी प्रदेश स्तरीय सन्देश सभा गर्ने भएको छ । विभिन्न वाम घटक मिलेर नेपाली कम्युनिस्ट पार्टी गठन भएपछि गण्डकी प्रदेशको राजधानी पोखरामा सन्देश सभा गर्न लागिएको हो । सन्देश सभाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्व नेकपा एकीकृत समाजवादीका गण्डकी प्रदेश अध्यक्ष कृष्णबहादुर नेपालीले सभा पोखरा चिप्लेढुङ्गास्थित मानवअधिकार चोकमा आइतबार बिहान साढे एघार बजेबाट सुरु हुने जानकारी दिए ।
सन्देश सभाका लागि जन परिचालन, स्वयंसेवक, प्रचार प्रसार, आर्थिक व्यवस्थापन, मञ्च व्यवस्थापन, अतिथि सत्कार, सांस्कृतिक उपसमिति गठन गरिएको र ती उपसमितिहरूले तीव्र रुपमा काम गरिरहेको उनले बताए । उक्त सन्देश सभालाई पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव कुमार नेपाल, नेता भीम रावल लगायतले सम्बोधन गर्ने जनाईएको छ ।
पत्रकार सम्मेलनमा पार्टीका नेता तथा पूर्व नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश इन्चार्ज दीननाथ शर्माले १७ कम्युनिष्ट घटकहरूले विचारको एकता गरेको बताउँदै अहिले रिसाएर गएकाहरू पनि विस्तारै पार्टीमा समाहित हुन आउने बताए । पोखरामा हुने सन्देश सभामा सबै बामपन्थी शक्तिहरू एकठाउँमा हुने बताउँदै सभाका गण्डकीका एघार वटै जिल्लाबाट कार्यकर्ता ल्याउने तयारी गरिएको बताए । नेतृत्व पुस्तान्तरणको आवाज उठिरहेको भन्दै त्यो पनि समय आएपछि हुने बताउँदै त्यसका लागि आफूहरू तयार रहेको बताए ।
पार्टीका नेता तथा पूर्व नेकपा एकीकृत समाजवादीका गण्डकी इन्चार्ज श्रीनाथ बरालले समाजवादी क्रान्ति पूरा गर्न गण्डकी प्रदेशले अहम् भूमिका खेल्ने बताए । नेपाली कम्युनिष्ट पार्टीले अहिले देशको मूल प्रवाहिकरणको नेतृत्व गरिरहेको गरिरहेको भन्दै उनले अब जेनजीको माग अनुसार भ्रष्टाचारमुक्त देश बनाउन, सुशासन कायम गर्न पनि नेपाली कम्युनिष्ट पार्टीको विकल्प नभएको बताए । उनले एकता सन्देश सभा चुनावी तयारीका रुपमा पनि बुझ्नु पर्ने बताए । साथै नेपालको निर्वाचन प्रणाली निकै खर्चिलो भएकाले यसलाई सुधार गर्नुपर्ने उनको भनाई छ ।
नेपाली कम्युनिष्ट पार्टीका नेताहरू विश्वनाथ शर्मा, अटिन्द्रकेसरी न्यौपाने, नवराज सुवेदीलगायतले समाजवादी क्रान्ति नेपाली कम्युनिष्ट पार्टीले मात्र गर्न सक्ने बताए । उनीहरूले भदौ १४ गते पोखरामा हुने गण्डकी प्रदेश स्तरीय एकता सन्देश सभालाई सफल पार्न आग्रहसमेत गरे । सातै प्रदेशमा सन्देश सभा गर्ने नेपाली कम्युनिष्ट पार्टीको निर्णयअनुसार पोखरामा यो सभा गर्न लागेको हो ।










