पोखरा । लोकतन्त्रको जगेर्ना, संविधानको रक्षाका लागि प्रतिगामी षड्यन्त्र विरुद्ध नेकपा एमालेले पोखरामा जनसभा गर्ने भएको छ । नेकपा एमाले जिल्ला कमिटी कास्कीको आयोजनामा शनिबार पोखरा पृथ्वीचोकमा जनसभा गर्ने भएको हो । एमाले जिल्ला कमिटी कास्कीका अध्यक्ष वैन बहादुर अधिकारी क्षेत्रीले संविधान र सङ्घीय गणतन्त्र रक्षाको लागि ७७ वटै जिल्लामा जनसभा गर्ने केन्द्रको निर्णय अनुसार पोखरामा पनि जनसभा गर्न लागिएको बताए ।
उक्त जनसभा पोखरा पृथ्वीचोकमा दिउँसो १२ बजेबाट सुरु हुने जनाईएको छ । जनसभा अघि पोखराका तीन ठाउँबाट जुलुस निकालिने छ । अध्यक्ष अधिकारीका अनुसार पोखरा नयाँबजारस्थित बृहस्पति पेट्रोल पम्प अगाडिबाट एउटा जुलुस निकालिने छ भने बुद्धचोक र सिर्जनाचोकबाट अर्को जुलुस निकालिने छ । जुलुसपछि आयोजना गरिने कोणसभामा पार्टीका शीर्ष नेताहरूले सम्बोधन गर्ने जनाईएको छ ।
अध्यक्ष अधिकारीका अनुसार सभामा सांस्कृतिक कार्यक्रमहरू समेत हुने छन् । अन्तरिम सरकारको प्रतिगामी कदमको विरुद्ध नेकपा एमाले सडकमा उत्रिन लागेको उनको भनाई छ ।











