पोखरा । पोखरामा इन्जिनियरिङ र प्रविधिसँग सम्बन्धित पछिल्लो अवस्थाबारे अन्तर्राष्ट्रिय सम्मेलन आईसीईटी २०२५ आजदेखि सुरु भएको छ । पोखरा इन्जिनियरिङ कलेजको आयोजनामा बिरौटास्थित होटल पोखरा ग्राण्डमा सुरु सम्मेलनको पोखरा विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर वेदराज केसीले उद्‌घाटन गरेका हुन् । सम्मेलनको उद्‌घाटन गर्दै प्रा. डा केसीले विज्ञान र प्रविधिको विकासले मानिसको जीवन सहज बनाउनुका साथै विविध चुनौतीहरू समेत थपेको बताए । प्रविधिको उचित प्रयोग गरि समाज र वातावरणमा पार्ने असरहरूलाई कम गर्ने तर्फ पनि ध्यान दिन जरुरी रहेको उनको भनाई छ ।

इन्टरनेशनले कन्फरेन्स अन ईमर्जिङ ट्रेण्ड्स ईन इन्जिनियरिङ एण्ड टेक्नोलोजी विषयक सम्मेलनमा पोखरा इन्जिनियरिङ कलेजका निर्देशक  अमर गुरुङले विज्ञान र प्रविधिले नै आज विश्वलाई नै नियन्त्रण गरिरहेको बताउँदै विज्ञान प्रविधि मानिसको कल्पनाशक्तिभन्दा पर पुगिसकेको बताए । विज्ञान प्रविधिमा असीमित सम्भावनाहरू रहेको बताउँदै यसको समुचित प्रयोगले भविष्यलाई थप परिष्कृत र सहज बनाउदै लैजान मद्दत पुग्ने बताए । 

 अन्तर्राष्ट्रियस्तरका प्रतिष्ठित शैक्षिक अनुसन्धानकर्ताहरू, उद्योगी व्यवसायी, नीति–निर्मातालाई इन्जिनियरिङ र प्रविधिको भविष्यलाई आकार दिने नवीनतम र समसामयिक आविष्कारहरू, अनुसन्धानमूलक खोजहरू र परिवर्तनकारी प्रविधिहरूको अन्वेषणलाई एकै थलोमा ल्याउने मूल उद्देश्यसहित सम्मेलन आयोजना गरिएको पोखरा इन्जिनियरिङ कलेजका प्रिन्सिपल तथा सम्मेलनका संयोजक सोम गुरुङले जानकारी दिए । सम्मेलनबाट आर्किटेक्ट र इन्जिनियरिङ क्षेत्रमा नयाँ प्रविधिहरूको प्रयोग र विश्वमा भइरहेको अभ्यासबारे थाहा पाउन सकिने उनको भनाई छ । 

सम्मेलनमा विभिन्न ८ राष्ट्रका अनुसन्धाताहरूले इन्जिनियरिङ तथा प्रविधि क्षेत्रको नवीनतम र समसामयिक अनुसन्धानमा आधारित शोधपत्रको प्रस्तुतिकरण गरिरहेको पोखरा इन्जिनियरिङ कलेजका रिसर्च कोअर्डिनेटर एवं आईसीईटी प्रोग्रामका सहसंयोजक इन्जिनियर कृष्ण घिमिरेले जानकारी दिए । 

राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका प्राध्यापक, अनुसन्धानकर्ता तथा प्राविधिक विज्ञहरूद्वारा तयार पारिएको इन्जिनियरिङ तथा प्रविधि क्षेत्रको नवीनतम र समसामयिक अनुसन्धानमा आधारित शोधपत्रको प्रस्तुतिकरण गरिने छ । सम्मेलनमा ८० वटा कार्यपत्रहरू रहेका छन् जसमा ५८ वटा प्रस्तुतीकरण र २२ वटा पोष्टर प्रिजेन्टेसनका लागि राखिएका छन् ।

सम्मेलनको पहिलो दिन पोखरा विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय र भारतको पुने विश्वविद्यालयका प्रोफेसरहरूले प्रस्तुतीकरण राखेका थिए । यसरी प्रस्तुती राख्नेमा प्रा. डा सुवर्ण शाक्य, प्रा. डा टेकराज ज्ञवाली, प्रा. डा सुदन झा, प्रा.डा. राजेन्द्र प्रसाद अधिकारी, प्रा.डा. विनय कुमार मिश्र, प्रा.डा. राम कुमार सोलाङ्की, प्रा.डा. गोविन्द लामिछाने लगायत छन् । 

सम्मेलनकै अवसरमा पोखरा इन्जिनियरिङ आर्किटेक्चर फ्याकल्टीका पासआउट विद्यार्थीहरूले आर्किटेक्चर थेसिस एक्जिबिसन समेत गरेका छन् । उक्त एक्जिबिसनमा पोखराका २० वटा स्कुल कलेजका विद्यार्थीहरूले अवलोकन गरेका छन् । सम्मेलन र एक्जिबिसनको शनिबार समापन गरिने छ । कलेजले २६ वर्षदेखि स्नातक र स्नातकोत्तर तहमा इन्जिनियरिङ अध्ययन–अध्यापनका साथै विभिन्न तहका अनुसन्धानमूलक गतिविधिहरू गर्दै आएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0