पोखरा । नेपाली काँग्रेस गण्डकी प्रदेशका उपसभापति मेखलाल श्रेष्ठले काङ्ग्रेसभित्र क्रियाशील सदस्यता नवीकरण नहुँदा केन्द्रिय कार्यसमितिमा युवाहरूलाई ल्याउन सम्भव नरहेको बताएका छन् । बुधबार काङ्ग्रेसको १५ औं महाधिवेशन समयमै गर्न दबाबस्वरूप पोखरामा आयोजित वृहत भेलामा बोल्दै उनले काँग्रेसको बीउ नै क्रियाशील सदस्य भएकाले त्यसको नवीकरणतर्फ ध्यान दिनुपर्ने बताए । उनले पार्टीमा जेनजी पुस्ताका युवाहरूको सहभागिताका लागि बाटो खोल्न समेत क्रियाशील सदस्यता नवीकरण आवश्यक रहेको बताए ।
उपसभापति श्रेष्ठले नेपाली काँग्रेसको १५ औँ महाधिवेशन कहिले गर्ने भन्नेबारे फरक फरक कुराहरू बाहिर आएको बारे बोल्दै हल्लाको भरमा पार्टीभित्र दरार ल्याउने काम नगर्न सुझाव दिए । केन्द्रिय कार्यसमितिको बैठक चलिरहेको र यसबारेमा निष्कर्ष नआउँदासम्म पार्टीको विधि विधान, पद्धति र परम्पराअनुसार मात्र क्रियाकलापहरू गर्न उनले सचेत समेत गराए ।
नेपाली काँग्रेसले पार्टीबाट छुट्टिएका र चित्त दुखाएकाहरूलाई कसरी एकीकृत गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्न जरुरी रहेको बताए । उनले समयमै महाधिवेशन सम्पन्न गर्न तत्परताका साथ टोलदेखि वडा सम्म पुगेर सदस्यता नवीकरण कार्यमा अगाडि बढिरहेको बताए । जेनजी आन्दोलनपछि मनोबल खस्किएको पार्टी कार्यकर्ताहरूको मनोबल उच्च बनाउन र नेपाली काँग्रेसलाई संस्थागत गर्न र सबैको साझा पार्टीको रुपमा स्थापना गर्न पनि यो भेला महत्वपूर्ण रहेको उनको भनाई छ ।

कार्यक्रममा स्वागत गर्दै गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङले नियमित अधिवेशनको तयारीस्वरूप कार्यक्रम गरिएको बताइन् । भदौ २३ र २४ गतेको आन्दोलनमा सबैले जिम्मेवारी लिनुपर्ने बताउँदै गलतलाई गलत र सहीलाई सही भन्न सक्ने तागत भेलाले प्रदान गर्ने बताइन् ।
कार्यक्रममा कास्की क्षेत्र नं ३ का महाधिवेशन प्रतिनिधि विष्णु बहादुर क्षेत्री, ढोरपाटन नगरपालिकाका प्रमुख कल्याण कायल, चापाकोट नगरपालिकाकी उपमेयर निसा राना मगर, भिरकोट नगरपालिकाका गोविन्द कुमार कर्माचार्य, नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्यहरू आदर्श मल्ल, सुरेन्द्र बस्नेत, पर्वतका नेता इन्दु शर्मा, पर्वतकै अर्का नेता याम बहादुर मल्ल, बागलुङ नेता थम खत्री, नेतृ इन्दिरा निरौला, भानु नगरपालिकाका आनन्द त्रिपाठी, पूर्ब महाधिवेशन प्रतिनिधि निर्मल कर्माचार्य, युवा नेताआशिष गुरुङ लगायतले बोलेका थिए ।
सहभागीहरुले कसरी महाधिवेशन समयमै सम्पन्न गर्ने, आगामी चुनावमा कसरी जाने, युवाहरूको सहभागीता कसरी बढाउने, पार्टीभित्रको विवादहरु कसरी हल गर्ने भन्ने बारेमा आआफ्नो धारणा राखेका थिए । उनीहरुले हस्ताक्षर अभियान चलाएका महामन्त्रीहरूलाई सुझाब समेत दिएका थिए ।











