पोखरा । अस्पतालहरूमा जेनेरिक नामको सट्टा ट्रेड नामबाट औषधि सिफारिस गर्ने डाक्टरलाई कारबाही गर्न नीतिगत सुधारको लागि नागरिक अभियानले माग गरेको छ । मङ्गलबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक प्राध्यापक डा. प्रेम राज पँगेनीलाई भेटेर नागरिक अभियानले यस्तो माग गरेको हो ।
अभियानले जेनेरिक नामको सट्टा ट्रेड नाम सिफारिस गर्दा महँगो मूल्यमा औषधि किन्नुपर्ने बाध्यतासँगै खोजेको औषधि नपाइने जनाउँदै यस्तो कार्य नगर्न खबरदारी गरेको हो । औषधिको जेनेरिक नाम सिफारिस नगर्दा सबैभन्दा बढि स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध नागरिकहरू मर्कामा पर्ने गरेको अभियानका संयोजक गणेश बहादुर थापाले दावी गरे ।

निजी, सामुदायिक तथा सरकारी अस्पतालहरूमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले बिरामीलाई औषधि सिफारिस गर्दा औषधीको जेनेरिक नाम अङ्ग्रेजी अक्षरमा बुझिने गरि लेख्नु पर्नेमा चिकित्सकहरू औषधि उत्पादक कम्पनी र तिनका स्थानीय प्रतिनिधिको प्रभावमा परि औषधि नाम सिफारिस गर्दा कम्पनीले दिएको ट्रेड नाम प्रयोग गर्दै आएका छन् । यस्तो कार्यलाई औषधीको सिन्डिकेटको संज्ञा दिदैँ तुरुन्त रोक्न माग गरे ।
बजारमा एउटै औषधीको नाम उत्पादक कम्पनी अनुसार फरक फरक हुने, चिकित्सकले लेखिएको कम्पनीको औषधि सो अस्पतालको फार्मेसीमा नहुने र समान प्रकृति अन्य औषधि फार्मेसीले नदिँदा वा नलिदा स्वास्थ्य बीमा हुँदा हुँदै पनि बिरामी महङ्गो शुल्कमा निजी फार्मेसीबाट औषधि किन्न बाध्य भएको नागरिक अभियानका संयोजकको भनाई छ। संयोजक थापाले यस्तो क्रियाकलाप नरोकिए चिकित्सकहरूको प्रेस्क्रिप्सनलाई आधार बनाएर जाहेरी दिने चेतावनी समेत दिए ।

ध्यानाकर्षण पत्र बुझ्दै अस्पतालका निर्देशक प्रा.डा. पँगेनीले चिकित्सकहरूलाई यसअघि देखि नै औषधीको जेनेरिक नामसहित औषधी सिफारिस गर्न र स्पष्ट अक्षरमा औषधीको नाम लेख्न पटक पटक निर्देशन गर्दै आएको बताए । अस्पताल प्रशासन र चिकित्सकबीच यसबारेमा पटकपटक छलफल भएपनि कार्यान्वयन नभएको बताउँदै नागरिक अभियानको माग अनुसार सुधारका लागि पहल गर्ने बताए ।
औषधीको जेनेरिक नाम सिफारिस नहुँदा अस्पतालको फार्मेसीमा प्रशस्त औषधि हुँदा हुँदै पनि स्वास्थ्य बिमामा आबद्ध बिरामीले बाहिर औषधि खरिद गर्नु पर्ने बाध्यता रहेकोले बीमाबाट उपचार गर्न गए औषधि पाइदैन पाइहाले पनि राम्रो औषधि पाइदैन भन्ने नकारात्मक सन्देश नागरिकमा परेको छ।















