पोखरा । चतराधाम बराहक्षेत्रका स्वामी रामाकृष्णाचार्य महायोगी सिद्धबाबाले नेपालमा वर्षेनी एक करोडभन्दा बढि पर्यटक भित्राउन सकिने दावी गरेका छन् । मङ्गलबार पोखरामा आयोजित धार्मिक पर्यटन प्रवर्द्धन सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै  जगतगुरु रामानन्द स्वामी रामाकृष्णाचार्यले यस्तो दावी गरेका हुन् । 

उनले नेपालमा वार्षिक दश लाख पर्यटक भित्राउन समेत मुस्किल हुने गरेको अवस्थामा यदि नेपाल सरकार र नेपाल पर्यटन बोर्डले आफ्नो सल्लाह मानेरै अभियान सञ्चालन गर्ने हो भने एक करोड पर्यटक भित्राउन सम्भव हुने बताए ।

उनले विश्वका दुई अर्ब भन्दा बढि मानिसहरू नेपालको धार्मिक आस्थाप्रति सकारात्मक रहेको र त्यसमाथि एक सय १८ करोड हिन्दुहरूले नेपाललाई सनातन राष्ट्रको पहिचान बोकेको देख्न चाहने बताउँदै एक करोड पर्यटक ल्याउन कठिन नहुने बताए । नेपाल भारतको सीमाक्षेत्रसँग जोडिएको भारतको उत्तरप्रदेश र विहार राज्यका जिल्लाका केही प्रतिशत मात्र पर्यटक ल्याउन सकेपनि नेपालमा पर्याप्त हुने बताए ।

उनले छिमेकी देश भारतका हिन्दुहरू नेपालको मुक्तिनाथ र पशुपतिनाथमा आस्था राख्ने गरेको र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नै यी मन्दिरहरूको पटक पटक दर्शन गरिसकेको बताउँदै नेपालको राजनीतिले यसको महत्वलाई बुझ्न नसकेको बताए ।

पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछानेले नेपालको हिमालदेखि तराईसम्म नै धार्मिक शक्तिपीठ एवं धार्मिक स्थलहरू रहेकाले नेपालमा धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेको बताए । उनले २०१९ को तथ्याङ्क हेर्दा पनि नेपालमा आउने अधिकांश धार्मिक पर्यटकहरू भारतीय रहेको र त्यो सङ्ख्या निकै ठूलो रहेको बताए । नेपाल भारतबीच खुला सीमाना भएकाले पनि धार्मिक पर्यटक भित्राउन सहज हुने उनको भनाई छ ।


पोखरा पर्यटन परिषदको आयोजना र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको सहकार्यमा भएको कार्यक्रमको अध्यक्षता पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले गरेका थिए । कार्यक्रममा परिषदका पूर्व अध्यक्ष सुन्दर कुमार श्रेष्ठ र सञ्चारकर्मी विश्वप्रकाश प्रसाईँ लगायतले बोलेका थिए । कार्यक्रमको  सञ्चालन परिषदका महासचिव जीवनराज सापकोटाले गरेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0