पोखरा । पोखरा रङ्गशालामा फ्रि वाइफाइ जोन हुने भएको छ । रङ्गशालालाई फ्रि वाइफाइ जोन बनाउने विषयमा जिल्ला खेलकुद विकास समिति कास्की र वर्ल्ड लिङ्क कम्युनिकेसन बीच सोमबार सम्झौता भएको समितिका अध्यक्ष मिलन गुरुङले जानकारी दिए । सो सम्झौता पत्रमा समितिका अध्यक्ष मिलन गुरुङ र वर्ल्ड लिङ्कका तर्फबाट गण्डकी जनसम्पर्क अधिकृत उत्सव श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार आगामी पाँच वर्षका लागि लागू हुने जिल्ला खेलकुद समितिले जनाएको छ ।
रङ्गशालाका पाँच स्थानमा सबैको पहुँचमा हुने गरी इन्टरनेट वितरण गरिने छ । हालका लागि रङ्गशालाको मुख्य गेट भलिबल प्रशिक्षण केन्द्र, बहुउद्देश्यीय कभर्ड हल, फुटबल स्टेडियम, क्रिकेट खेल मैदान र टेनिस सेन्टरको वरपर हुने गरी जडान हुनेछ । जसबाट सबै क्षेत्र फ्रि वाइफाइ जोन सबैको पहुँचमा हुने गरी जडान गर्न लागिएको अध्यक्ष गुरुङले जानकारी दिए । कुन स्थानमा कति क्षमताको वाइफाइ जडान गर्ने र दिनमा कति समय चलाउन मिल्नेबारे भने छलफल भइरहेको उनको भनाई छ ।
लामो समय देखि खेलाडी तथा प्रशपक्षकहरूले पोखरा रङ्गशालालाई फ्रि वाइफाइ जोन बनाउन आवाज उठाउँदै आएका थिए । पोखरा रङ्गशालालाई मेट्रो वाइफाई फ्रि जोन बनाउन र वर्ल्ड लिङ्क कम्युनिकेसनले करिव ३० लाख खर्च लाग्ने अनुमान गरेको छ । सम्झौता अनुसार अव पोखरा रङ्गशाला सञ्चालन हुने प्रतियोगिता तथा प्रत्यक्ष प्रसारण गर्दा वर्ल्ड लिङ्क इन्टरनेट पार्टनरको रुपमा रहने छ ।













