पोखरा । यहि कार्तिक २१ गते पोखरा रङ्गशालामा हुन लागेको चर्चित साँगीतिक ब्यान्ड नेपथ्यको कन्सर्टमा ८ हजार जना दर्शकलाई मात्र प्रवेश टिकट दिइने भएको छ । ‘क्रिकेटका लागि नेपथ्य’ नारासहित नेपाल प्रिमियर लिग एनपिएल को फ्रेन्चाइज टिम पोखरा एभेन्जर्सको आयोजनामा हुन लागेको कन्सर्टमा जम्मा ८ हजार दर्शक मात्र उपस्थित हुन पाउने जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरुङले बताए । तीमध्ये २ हजार भीआईपी र २ हजार विद्यार्थीहरू रहने छन् ।
पोखरा रङ्गशालामा कन्सर्ट आयोजना गर्नका लागि आयोजक पोखरा एभेन्जर्स, जिल्ला खेलकुद विकास समिति कास्की र नेपालयबीच भएको सम्झौता अनुसार कन्सर्टबाट एकजना दर्शक बराबर ३ सय रुपैयाँ पोखरा रङ्गशालाले प्राप्त गर्ने छ । रङ्गशालालाई प्राप्त हुने एकजना दर्शक बापत ३ सयबाट एक सय रुपैयाँ सामुदायिक विद्यालयका विद्यार्थीका लागि खेलकुद सामाग्रीहरू खरिद गरेर प्रदान गरिने अध्यक्ष गुरुङले बताए । कन्सर्टबाट बचत हुने रकम रङ्गशाला मर्मतमा खर्च गरिने जिल्ला खेलकुद विकास समितिले जनाएको छ । आयोजक पोखरा एभेन्जर्सले टिकटको सट्टा जर्सी किन्नुपर्ने व्यवस्था गरेको छ । साधारण दर्शकले १ हजार ४ सय ९९ सय र विद्यार्थीले ९ सय ९९ सय रुपैयाँमा जर्सी किनेर कन्सर्ट हेर्न सक्नेछन् ।

क्रिकेटलाई सङ्गीतासँग जोड्ने उद्देश्यसहित यो कन्सर्टको आयोजना गर्न लागिएको हो । पोखरा रङ्गशालालाई सहयोग पुराउने हिसाबले कन्सर्ट रङ्गशालामा गर्न लागिएको हो । पोखरा रङ्गशालामा कन्सर्ट हुने भएपछि केही व्यक्तिहरूले रङ्गशालाको मैदान बिग्रन सक्ने र संरचनामा असर पर्न सक्ने चिन्ता व्यक्त गरिरहेका छन् । तर अध्यक्ष गुरुङले अन्य देशमा पनि कन्सर्टहरू हुने गरेको बताउँदै कन्सर्ट हुँदा असर नपर्ने बताए । धावकहरू दौडने धावनमार्ग र मैदानको सुरक्षाका लागि बाक्लो कार्पेट बिच्छ्याइने भएकाले सुरक्षित हुने दावी गर्दै कन्सर्टको भोलिपल्टदेखि नै सरसफाइ गरिने उनले बताए ।
पोखरा रङ्गशालामा यतिबेला मर्मतको काम भइरहेको छ । पुराना सिटहरू फेरेर नयाँ सिट राख्ने काम भइरहेको छ । अध्यक्ष गुरुङले रङ्गशालाको रेखदेख र मर्मत गर्ने जिम्मेवारी पनि खेलकुद विकास समितिकै भएकाले आर्थिक स्रोतका लागि पनि कन्सर्ट गर्न अनुमति दिइएको बताए ।










