पोखरा । डा. नवराज केसीले काम गर्ने अस्पतालमा छटपटाइरहेकी एक वृद्धालाई अक्सिजन दिएर तङ्ग्रिएपछि ती वृद्धाले भनिन्, ‘यो हावा जुन मैले लिइरहेको छु यो कति गुलियो हो ।’ कुनै सुगन्ध र स्वाद नभए पनि उनले जीवनको स्वाद महसुस गरिरहेकी थिइन् त्यसैले उनलाई अक्सिजन गुलियो लागेको थियो । यही उदाहरण दिदैँ डा. केसी भन्छन्, ‘प्रत्येक क्षणमा आफूले आफूलाई कसरी महसुस गरिरहनु भएको छ त्यो क्षण स्व हो र स्वस्पर्श पनि हो ।’
पोखरा न्युरोडस्थित सिटी स्क्वायरमा आयोजित फाइनप्रिन्ट फिभर घुम्ती साहित्य उत्सवमा साहित्यकार उपेन्द्र पौडेलसँग डा. नवराज केसी आफ्नै कृति स्वस्पर्शको स्पर्श पुस्तक माथि जीवन, खुसी, आशा अनि प्रेरणाका विषयमा गफिए । हरेक विषयमा कथा बनाउन माहिर डा. केसी कथाकै माध्यमबाट जिज्ञासा र प्रश्नका जवाफ दिइरहेका थिए । जसको चाँजोपाजो फाइनप्रिन्ट बुक्स र र्यान्डम रिडर्स सोसाइटीले मिलाएको थियो ।
उत्सवमा जीवनको उत्तर दिने क्रममा ‘खुसी भेट्नु अलिकति र अरुलाई खुसी दिनु अत्याधिक’ हो भन्नेमा केन्द्रित थिए । आफूलाई आवश्यक परेको बस्तु उहीँ बेला प्राप्त गर्नु नै जीवनको उद्देश्य भएको उनको भनाइ थियो । उनले भने, नहुँदा जति महत्व दिन्छौँ त्यो हुँदा खेरी नै त्यसको महत्व दिऔँ भन्नु नै जीवनको सबैभन्दा ठूलो उद्देश्य हो ।’
गफ कै क्रममा मध्यस्थकर्ता उपेन्द्र पौडेलले डा. केसीलाई तपाई कति मात्रामा सङ्कलक, कति मात्रामा लेखक? भन्ने प्रश्नमा उनले हरेक लेखक सुरुमा सङ्कलन हुनैपर्ने प्रतिउत्तर दिए । सोही प्रसंगमा डाक्टर हुन गाह्रो, लेखक हुन झन गाह्रो, त्यो भन्दा डाक्टर बनाउन अझ गाह्रो हुने बताएका थिए । एक हजामसँगको वार्तालापको प्रसङ्ग सुनाउँदै उनले भने, ‘ यो डाक्टर हुनुभन्दा डाक्टर बनाउ झनै गाह्रो छ । किन भने मलाई मेरी आमाले बारीमा टमाटर फलाएर एक एक किलो टमाटरको हिसाब राखेर मलाई डाक्टर बनाउनुभएको हो ।’
उनले आफ्नो पछिल्लो पुस्तकमा आमाको माया पनि झल्काएको सुनाए । पुस्तक लेख्ने क्रममा उनले धेरैभन्दा धेरैको जीवनका कथा सङ्कलन गरी लेखन सुरु गरेको पनि उनले बताए । ती पात्रहरूकै अनुमतिमा कथा पुस्तकमा समेटिएको उनको भनाइ थियो । जसले गर्दा अन्यले प्रेरणा प्राप्त गर्न सकुन् भन्ने उद्देश्य रहेको थियो ।
संवादकै क्रममा उनले आफ्नो पुस्तक स्पस्पर्शको चर्चा पनि गर्न भ्याए । संसारमा लेख्न, पढ्न र बोल्न नसक्नेहरूको पनि कथा हुने भएकाले उनीहरूको कथाले अरुलाई प्रेरणा दिन सकिन्छ भन्ने उनको धारणा छ । उनीलाई साहित्यले बाध्न सक्नुपर्ने उनको तर्क छ । ‘भुइँमान्छेका कथाहरू सङ्कलन गर्न सकिदैन् । किनभन उनीहरुले बोल्न र लेख्न जानेका छैनन् । यहीनेर त साहित्यको काम छ,’ उनले भने, ‘खुरुखुरु औषधि बेचिरहेको डाक्टरले लेख्नुपर्छ । साहित्य भाषाभन्दा माथि किन छ भने जहाँ शब्दैशब्दले तपाईंलाई निःशब्द बनाउँछन त्यहाँबाट साहित्य सुरु हुन्छ ।’
आफ्नो पुस्तक पढेर निःशब्द हुँदै जीवन बदलेको उदाहरण पनि आफूलाई इमेलमार्फत जानकारी गराएको प्रसङ्ग पनि उनले सुनाए । ‘मैले केही दिन यता मेरो इमेलमा धेरै म्यासेजहरू पाइरहेको छु । त्यो मध्ये एउटा बहिनीले लेखेको मन छुने म्यासेज छ, “मैले आत्महत्या गर्न डोरी किनिसकेको थिएँ । स्वस्पर्शको स्पर्श पढेँ डोरी हटाएँ र बाँच्न सुरु गरे”, उनले भने, ‘त्यसपछि उनको फेसबुक प्रोफाइल निरन्तर हेररहेको छु उनी नाचेको घुमेको फोटोहरु देख्छु । सायद मलाई संकलकबाट लेखक ती बहिनीले बनायो की जस्तो लाग्छ ।’
डाक्टर भएर बाँचिरहँदा तन र मनको उपचार गर्न सक्नुपर्नेमा उनले जोड दिए । ‘अस्पतालमा मान्छेहरु रोग मात्र होइन् ऋण पनि बोकेर आएका हुँदा रहेछन् । मलाई यो बुझ्न धेरै समय लाग्यो,’ उनले भने, ‘ त्यसैले तन र मनको रोग सँगसँगै चल्छ । जसले रोगको निवारण गर्ने हो उसले पनि तन र मनै खालेर हेरिरहेको छ की छैन् भन्ने कुरा महत्वपूर्ण हुन्छ ।’ सोही विषयमा उनले धर्म विनाको कर्मको अर्थ नहुने तर्क दिएका थिए ।
उनले आफ्नो पुस्तक स्वस्पर्शको स्पर्शमा बुद्धको ज्ञानलाई विज्ञानसँग जोडेको प्रसङ्ग पनि सुनाए । नेपाली साहित्यको पाइला पाइलामा बौद्ध दर्शन भएको तर त्यसलाई विश्वव्यापी गर्न चुकिरहेको उनको भनाइ थियो । ‘म घरै बसेर मेरो कर्मको माध्यमबाट बुद्धत्व प्राप्त गर्छु,’ उनले भने, ‘म बिरामी जाच्दा जाच्दै बुद्ध बन्न चाहनछु । म के अनुरोध गर्न चाहन्छु भने जे कर्म गर्दै हुनुहुन्छ त्यही कर्मको माध्यमबाट बुद्धत्व प्राप्त गर्नुस् ।’ आफ्नो पुस्तकमा खुसीका विषय भरपुर समेटिएको उनले सुनाए । पुस्तकमा भएको ‘डुक्ने स्माईल’ को प्रसङ्ग सुनाउँदै हाँसेमा धेरै दुख घट्ने उनले बताए ।
संवादको अन्त्यमा, हामी सबै बुद्धले सिकाएको मध्यम मार्गमा हिड्नुपर्ने उनले बताए । डा. केसीको कृतिहरुमा आमा पात्रलाई किन बढि प्राथमिकता? भन्ने प्रश्नमा उनले जवाफ दिदैँ भने, ‘आमाको बारेमा किन धेरै लेख्नुपर्यो भन्दा इतिहासको कालखण्डमा कहिले पनि बाहरु सती गएनन् । त्यसैले समेट्नुपर्यो,’ उनले भने, ‘यद्धपि हामी बुद्धले सिकाएको मध्यम मार्गमा हिड्नुपर्छ । महिलाको धेरै कथा लेखियो भनेर पुरुषहरु धेरै आत्तिनु हुँदैन् र पुरुषका धेरै प्रश्नहरु आए भनेर महिलाहरु आत्तिनुहुदैन् ।’











