पोखरा । नेपाल ट्रेड युनियन महासङ्घ जिफन्टको आयोजनामा पोखरामा अभिमुखिकरण कार्यक्रम आयोजना भएको छ । शनिबार नेपाल यातायात स्वतन्त्र मजदुर सङ्घठनको सभाहलमा ‘बदलिएको राजनैतिक परिदृश्यमा श्रमिक संवाद’ शीर्षकमा कार्यक्रम भएको हो  ।

कार्यक्रममा आफ्नो प्रस्तुती राख्दै जिफन्टका राष्ट्रिय कमिटी अध्यक्ष विनोद श्रेष्ठले गत भदौ २३ र २४ गते भएको आन्दोलन त्यसले पुर्‍याएको क्षति र अबको बाटो लगायतका बारेमा सहभागीलाई प्रकाश पारेका थिए । यो कार्यक्रमले तल्लो तहमा श्रमिक र नेतृत्वका बीचमा घुलमिल र अपनत्व बढाउने उनले उल्लेख गरे । सबै प्रदेशमा आयोजना हुने यो कार्यक्रमले श्रम बजारमा देखिएका नयाँ चुनौतीहरू सङ्कलन गरेर समाधानका लागि योजना बनाउन सघाउने अध्यक्ष श्रेष्ठको विश्वास रहेको छ ।

जिफन्ट गण्डकी प्रदेश कमिटीका अध्यक्ष रुद्र खत्रीले बदलिएको राजनैतिक अवस्थाले श्रमिकलाई पारेको प्रभाव र मानसिकताको बारेमा जिफन्ट राष्ट्रिय कमिटीको निर्णय अनुसार यो कार्यक्रम पोखराबाट सुरुवात गरिएको बताए । यो कार्यक्रम देशका विभिन्न ठाउँ हुँदै कोशीमा गएर समापन हुने उनको भनाइ छ । त्यसको लागि जिफन्टका राष्ट्रिय कमिटी अध्यक्ष विनोद श्रेष्ठको नेतृत्वमा टिम परिचालन गरिएको उनले खुलाए । १५ दिनसम्म कार्यस्थलमा रहेर सबै मजदुरका कुरा सुन्ने तयारीका साथ टिम परिचालन भएको उनको भनाइ छ ।

गण्डकी अध्यक्ष खत्रीले विभिन्न प्रतिष्ठान, उद्योग, कलकारखानामा गत भदौ २३ र २४ गतेको आन्दोलनमा क्षति भएको भन्दै श्रमिक कटौती हुन थालेको तथा ज्याला नपाउने अवस्था हुन लागेकोले श्रमिकलाई सचेत बनाइ आफ्ना हक अधिकारका बारेमा जानकारी दिनका लागि कार्यक्रम गरिएको खुलाए । गण्डकीमा श्रमको बढी चाप भएको ठाउँ पोखरा र नवलपुर भएको बताएका उनले यहाँका होटलहरूमा भएको क्षतिका कारण तहाँ कार्यरत श्रमिकलाई समस्या हुन सक्ने औँल्याए ।

अहिले प्रत्यक्ष रुपमा पर्यटन क्षेत्रमा असर देखिएपनि मानिसको क्रयशक्तिमा ह्रास आउँदा कृषि क्षेत्रमा समेत समस्या देखिनसक्ने उनले बताए । अहिले ‘पिक सिजन’मा पनि न्यून अकुपेन्सी रहेकोले त्यसको असर चारैतिर पर्न सक्ने उनको भनाइ थियो । सबैसँग सहकार्यमा बदलिएको परिस्थितिलाई सही मार्गमा ल्याउन पहल गर्ने उनले उल्लेख गरे ।

 कार्यक्रममा जिफन्ट राष्ट्रिय उपाध्यक्ष सिता लामा, सचिव कृष्ण केसी, नेकपा एमालेका केन्द्रीय सदस्य चुडामणी जंगली, पूर्व राष्ट्रिय उपाध्यक्ष मिना गुरुङ सहित गण्डकी प्रदेश कमिटी, महिला कमिटी, युवा कमिटी, जिल्ला कमिटी, महानगर कमिटी, घटकका केन्द्र प्रदेश र जिल्ला, पालिका, वडा, इकाइ र प्रतिष्ठान लगायतबाट सहभागी प्रतिनिधिले आफ्ना अनुभव र सुझाब राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0