पोखरा । विदेशमा नेपाली चलचित्र प्रदर्शन र विभिन्न इभेन्ट आयोजना गर्दै आएको प्रचारले नेपालमा प्रदर्शन भइरहेको चलचित्र जेरी अन टपको क्यानडा वितरणको अधिकार पाएको छ । प्रचार नेपाल प्रालिका सञ्चालक आशिष पुरी र चलचित्रका निर्माता विवेक थापाले शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । दर्शकको मागबमोजिम क्यानडामा उक्त चलचित्रको वितरण अधिकार किनिएको प्रचारका सञ्चालक पुरीले बताए । उनले क्यानडामा बुकिङ खुला भइसकेको जानकारी दिए ।

 प्रचारले यसअघि क्यानडामा पूर्णबहादुरको सारंगी, तेल भिसा, छक्का पञ्जा ५ र ह्रस्व दीर्घ जस्ता चलचित्रहरू प्रदर्शन गरिसकेको छ । विभिन्न म्युजिकल इभेन्ट पनि गर्दै आएको छ । प्रचारका साजनजंग पाण्डेले नोभेम्बर १ बाट क्यानडाका मुख्यमुख्य शहरमा ‘जेरी अन टप’ चलचित्र प्रदर्शन हुने बताए । उनले चलचित्रका लागि टिकट खुला भइसकेको उल्लेख गरे ।

 अनमोल केसी, जसिता गुरूङ र आँचल शर्मा अभिनीत चलचित्र ‘जेरी अन टप’ असोज ३१ गतेदेखि नेपाली हलहरू चलिरहेको छ । दोस्रो सातामा पनि चलचित्रको हाउस फुल भइरहेको निर्माता थापाले बताए । चलचित्रले हालसम्म ६ करोड बढी आम्दानी गरिसकेको चलचित्रको प्रस्तुतकर्ता सरोज न्यौपाने जानकारी दिए । ७५ हजार दर्शकले चलचित्र हेरिसकेको उनको भनाइ छ । यो चलचित्र अमेरिका, अष्ट्रेलिया, माल्टामा पनि प्रदर्शन भइरहेको निर्माता थापाले उल्लेख गरे ।

 सुयोग गुरूङको निर्देशनमा बनेको यो चलचित्रमा सगरमाथा आरोहण र यात्राको क्रममा हुने प्रेमकथालाई मुख्य विषय बनाइएको छ । भुवन केसी, केदार घिमिरे, उषा खड्गी, सुरक्षा पन्तसहितका कलाकारहरूको अभिनय पनि यस चलचित्रमा देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0