पोखरा । पोखराको नयाँबजारमा रहेको प्रदेश सङ्ग्रहालय गण्डकीमा चालु आर्थिक वर्ष २०८२/२०८३ को पहिलो तीन महिनामा अवलोकन गर्न पुग्नेको सङ्ख्या घटेको देखिएको छ । अघिल्लो आर्थिक वर्ष २०८१/०८२ को तुलनामा यहाँ अवलोकनका लागि पुग्नेको सङ्ख्या घटेको हो । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा कुल २ हजार ६ सय ८० जनाले सङ्ग्राहलय अवलोकन गरेको प्रदेश सङ्ग्राहालयका कार्यलय प्रमुख करुणा राईले जानकारी दिइन् ।
यसरी पुग्नेमा २ हजार ५ सय ५२ जना नेपाली नागरिक रहेका छन् । नेपाली नागरिकमा सबैभन्दा धेरै विद्यार्थी रहेका छन् । यहाँ पुग्ने विद्यार्थीको सङ्ख्या गएको तीन महिनामा १ हजार ६ सय ९७ जना रहेको छ । यसैगरी सार्क मुलुकका पर्यटक ६१ जना र सार्क मुलुक बाहिरका पर्यटक ६७ जनाले सङ्ग्रहालयको अवलोकन गरेका छन् ।
पहिलो तीन महिनामा अवलोकनकर्ताको प्रवेश शुल्कबाट सङ्ग्रालयलाई ४८ हजार ९५ रुपैयाँ आम्दानी भएको छ । जसमा सर्वसाधारण नेपाली नागरिक बाट २१ हजार ३ सय ७५, नेपाली विद्यार्थीबाट १६ हजार ९ सय ७०, सार्क मुलुकका पर्यटकबाट ३ हजार ५० र सार्क मुलुक बाहिरका पर्यटकबाट ६ हजार ७ सय रुपैयाँ आम्दानी भएको छ । आर्थिक वर्ष २०८१/२०८२ को पहिलो तीन महिनामा भने यहाँ ३ हजार ८ सय जनाले अवलोकन गरेका थिए । विभिन्न जातीय समुदायको लोक कला, लोक संस्कृति र रीतिरिवाज बुझ्न सकिने भएकाले पनि यस सङ्ग्रहालयमा सबैभन्दा बढि नेपाली विद्यार्थीहरू पुग्ने गरेका छन् ।
सङ्ग्राहालय प्रदेश मातहतमा आएपछि र छुट्टै प्रशासनिक भवन बनेपछि थप व्यवस्थित ढङ्गले सञ्चालन गर्ने प्रयास भइरहेको प्रमुख राईको भनाइ छ । वि.सं. २०४१ माघ २३ गते सर्वसाधारणको लागि खुला गरिएको क्षेत्रीय सङ्ग्रहालय वि.स.२०७५ भाद्र २४ गते प्रदेश सङ्ग्रहालयको रुपमा रूपान्तरण भएको हो ।
पोखरा महानगरपालिका वडा नं ९ नयाँबजारमा रहेको यस सङ्ग्रहालयमा विशेषगरी पश्चिमाञ्चल क्षेत्रमा बसोबास गर्ने विभिन्न जातजातिका जीवनशैली, भेषभुषा, गरगहना, बाजागाजा, कृषिऔजार तथा संस्कृति सम्बन्धी विभिन्न सामाग्रीहरू सङ्ग्रहित छन् । पश्चिमाञ्चल क्षेत्रको जीवनशैली र रहनसहन बुझ्ने उत्कृष्ट गन्तव्यका रुपमा विकास भएपनि सङ्ग्रहालयमा अपेक्षा अनुसार पर्यटक भने पुग्न सकेका छैनन् ।
यो सङ्ग्रहालयमा चारवटा प्रदर्शनी कक्षहरू छन् । मुस्ताङ जिल्लाको उत्खननबाट प्राप्त पुरातात्विक सामाग्रीहरू पनि यस सङ्ग्रहालय प्रदर्शनीको मुख्य आकर्षण हो । हाल यस सङ्ग्रहालयमा प्रशासनिक भवन, चारवटा ग्यालरी, सुन्दर बगैँचा, बालउद्यान र पार्किङ स्थल रहेका छन् । सङ्ग्रहालय प्रवेशका लागि नेपाली विद्यार्थीलाई १०, नेपाली नागरिकलाई २५ सार्क राष्ट्रका नागरिकलाई ५० तथा अन्य देशका नागरिकलाई एक सय रुपैयाँ टिकट दर तोकिएको प्रमुख राईले जानकारी दिइन् ।











