पोखरा । होटल सङ्घ पोखरा नेपालले तिहारका अवसरमा विहीबार आयोजना गरेको १८ औं भाइटीका महोत्सवमा २०८२ एक सय भन्दा बढी पर्यटकले सहभागिता जनाएका छन् । महोत्सवमा पर्यटकको उत्साहजनक सहभागिता रहेको र विभिन्न १५ भन्दा बढी देशका पर्यटकले भाइटीका लगाएको आयोजक सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । 

सङ्घले पोखरा र सिङ्गो नेपालको पर्यटन प्रवर्द्धन र संस्कृतिको संरक्षणको लागि विविध महोत्सव आयोजना गर्दै आएको स्मरण गराउँदै अध्यक्ष सुवेदीले यो पटकको भाइटीका महोत्सव पर्यटकको उल्लेख्य सहभागिताका कारण विशेष बन्न पुगेको बताए । महोत्सवमा अमेरिका, बेलायत, चीन, भारत, जर्मनी, इजरायल, स्विडेन, अष्ट्रेलिया, स्पेन, न्युजिल्याण्ड, नेदरल्यान्ड लगायतका देशका पर्यटकको सहभागिता रहेको थियो । 

लेकसाइड स्थित होटल पौवामा आयोजना भएको महोत्सवमा रेन्बो चिल्ड्रेन होमका छात्राहरूले पर्यटकलाई टिका लगाइदिएका थिए । सहभागी पर्यटकलाई नेपाली ढाका टोपी र पछ्यौरा उपहार प्रदान गरिएको थियो । पर्यटकहरूले सेलरोटी लगायत नेपाली परिकार चाखे र महोत्सवका अवसरमा आयोजित देउसीभैलोमा रमाए ।  सप्तरङ्गी टिका लगाएका पर्यटकहरू नौलो अनुभव लिन पाएको भन्दै दङ्ग थिए । 

अष्ट्रेलियाबाट आएकी एक पर्यटक एनिले आफू धेरै पटक नेपाल आएको र यो पटक नेपाल आएर टिका लगाउन पाउँदा हर्षित भएको प्रतिक्रिया दिइन् । उनले नेपाल सांस्कृतिक रुपमा धनी रहेको भन्दै नेपालीको अतिथि सत्कारबाट आफू प्रभावित भएको बताइन् । 

संस्कृतिका माध्यमबाट पर्यटन प्रबर्द्धन गर्दै पर्यटन क्षेत्रलाई थप चलायमान बनाउने उद्देश्यले महोत्सव आयोजना गरिएको हो । पछिल्लो पटक देशको विषम परिस्थितिका कारण पर्यटन क्षेत्र समेत प्रभावित हुन पुगेको भन्दै सङ्घले महोत्सवले पर्यटनलाई पुरानै लयमा फर्काउन टेवा पुर्याउने विश्वास व्यक्त गरेको छ । 

कार्यक्रम भव्य रुपमा सम्पन्न भएको भन्दै महोत्सवका संयोजक एवं सङ्घका द्वितीय उपाध्यक्ष गणेशराज पहारीले उपस्थित सबैलाई धन्यवाद दिए । महोत्सवमा तिहारको महत्व, दिपावली तथा तिहारका पाँचै दिनका बारेमा सहभागी पर्यटकलाई जानकारी गराइएको थियो । 

 महोत्सवलाई नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाले प्रबर्द्धन गरेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0