पोखरा । नेपाल सम्वत् ११४६ को अवसरमा बुधबार पोखरामा भिन्तुना र्‍याली निकालिएको छ । कुल ४३ वटा समुह झाँकी र्‍यालीमा सहभागी बनेकोमा रूपा देउराली नेवा: खल कास्की प्रथम भएको छ । प्रथम भएको रूपा देउरालीले नगद २५ हजार रुपैयाँ हात पार्‍यो । द्वितीय भएको फेदी नेवा: खल रूपाले १२ हजार, तृतीय भएको कुँडहर नेवा: कचा खल र  सान्त्वना बनेको नेपाल राष्ट्रिय खड्गी समाज पोखराले नगद पाँच-पाँच हजार जिते । झाँकी र्‍यालीमा ४ वटा समुह नेवार बाहेकका जातिका रहेका थिए । प्रतियोगिताको निर्णायक संयोजकमा प्रकाशलाल श्रेष्ठ तथा सदस्यमा राम बहादुर रजक र सुरेश मानन्धर थिए ।

पोखरा १२ माटेपानी सितलादेवी मन्दिरबाट सुरु भएको झाँकी र्‍याली पुरानाेधारा, रानीपौवा, महेन्द्रपुल, पालिखेचोक, तेर्सापट्टी, नालामुख हुँदै भिमसेन टोलमा रहेको नेवा खल कास्कीको परिसरमा पुगेर समापन समारोहमा परिणत भएको थियो । नेवा: खल कास्की, नेवा: मिसा: पुच: कास्की, नेवा: ल्याम्ह पुच: कास्की, नेवा: पत्रकार पुच: कास्की र झिगु भाय झिगु संस्कृतिको संयुक्त आयोजनामा नेपाल सम्वत् ११४६ शुभकामना र्‍याली आयोजना गरिएको हो । र्‍याली सुरुको आयोजकको रुपमा सितलादेवी नेवा: पुच: पोखरा र समापन कार्यक्रमको व्यवस्थापकको रुपमा शिशुवा नेवा: खलले भूमिका निर्वाह गरेका थिए ।

र्‍याली समापन समारोह सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा बोल्दै पूर्व प्रधानन्यायाधीश श्रेष्ठले नेपालले आफ्नो स्वतन्त्र राष्ट्रको हैसियतले  मान्यता प्राप्त गर्न सङ्घर्ष गरिरहँदा नेपाल भाषामा लेखिने रञ्जना लिपिलाई नेपालको लिपि भनेर देखाउनु परेको बताए । नेपालको राष्ट्रियता संस्कृतिको माध्यमबाट नेवार समुदायले जीवन्त राखेको उनको भनाइ थियो । उनले नेवा: खल कास्कीले गरेका गतिविधिको बारेमा प्रशंसा समेत गरे ।

सोही कार्यक्रममा कास्की नेवा: रत्न २०८२ को विजेता घोषणा समेत गरिएको थियो । नेवा कचा: पुच: जातिय सङ्घ संस्था भित्र विगत लामो समयदेखि रहेर उत्कृष्ट कार्य गर्नेलाई यो पुरस्कार गर्ने बताइएको छ । सोही अनुसार वर्ष २०८२ को पुरस्कार भैरव सांस्कृतिक समितिलाई अर्पण गरिने भएको छ । समितिले संस्कृतिको संरक्षणका लागि लामो समयदेखि काम गरिरहेको छ भने युवा पुस्तालाई संस्कृति हस्तान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ । पुरस्कारको राशि नगद १ लाख रुपैयाँ रहेको छ । पुरस्कार छनोट समितिको संयोजकमा श्रीकृष्ण श्रेष्ठ र सदस्यमा सुविन्द्र श्रेष्ठ, सङ्गीता बज्राचार्य, श्रीकृष्ण कतिला रहेका थिए ।

नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखेले नेवा: खल कास्कीले प्रदान गर्ने पुरस्कारको लागि हाल सम्म ७५ लाख रुपैयाँ अक्षयकोषमा जम्मा गरिएको बताए । अक्षयकोषमा १ करोड पुर्‍याउने लक्ष्य राखिएको भन्दै वर्षको दुई लाख पुरस्कारमा मात्र खर्च हुने सुनाए ।

नेवा खल कास्कीका उपाध्यक्ष तीर्थ श्रेष्ठले शङ्खधर साख्वाःले राष्ट्रको नाममा नेपाल सम्वत् नाम राखेको कारण उनको राष्ट्रवादीता प्रष्ट भएको उनले बताए ।  संसारमा देशका नाममा सम्वत् नभएको दावी गर्दै श्रेष्ठले सबै नेपालीको साझा सम्वत्को रुपमा यसलाई बुझ्नुपर्ने उल्लेख गरे ।

हिमाली सांस्कृतिक परिवारका अध्यक्ष ज्ञान बहादुर थापाले सबै जातजातिबीचको एकता भयो भने कला संस्कृतिको जगेर्ना गर्न सकिने बताए ।

नेवा खल कास्कीका अध्यक्ष पालिखेको अध्यक्षतामा भएको कार्यक्रम महासचिव श्रीकृष्ण कतिलाले सञ्चालन गरेका थिए । कार्यक्रमको आकर्षणको रुपमा बाँसुरीको धुन र नृत्य प्रस्तुती रहेका थिए ।

नेपालीहरूको मौलिक तथा राष्ट्रिय सम्वत् नेपाल सम्वतको स्वागतार्थ पोखरामा वर्षेनी भिन्तुना ऱ्याली हुँदै आएको छ । भिन्तुना र्‍याली निकाल्दा नेपाल संवतका सुरुवातकर्ता तथा राष्ट्रिय विभूति शङ्खधर साख्वाः  प्रति सम्मान र श्रद्धा बढ्ने विश्वासका साथ र्‍याली सहितको कार्यक्रम गरिएको हो ।  नेवार समुदायमा प्रचलित म्हः पूजाको दिनदेखि नेपाल सम्वतको नयाँ वर्ष प्रारम्भ हुने हुँदा नेपाल सम्वतको स्वागतार्थ हरेक वर्ष पोखरामा भिन्तुना ऱ्याली निकालिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0