पोखरा । महाकवि लक्ष्मी प्रसाद देवकोटाको १ सय १७ औँ जन्मजयन्तिको अवसरमा पोखरामा विशेष कार्यक्रम आयोजना गरिएको छ । लुम्ले पोखरा देवकोटा समाज र देवकोटा बन्धु समाज कास्कीको आयोजनामा सोमबार कविता प्रतियोगिता, सम्मान तथा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको हो । महाकवि देवकोटाको जन्म वि.सं. १९६६ मा कात्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो ।

 कार्यक्रममा बोल्दै संविधान सभा सदस्य डा.खिमलाल देवकोटाले महाकवि लक्ष्मीप्रसाद देवकोटा जन्मिएको घरलाई हाल सरकारले सङ्ग्रहालयको रुपमा संरक्षण गरेर राखेको बताए । विदेशी मुलुकमा स्रष्‍टाहरूको निजी घरलगायत सम्पत्तिलाई सङ्ग्राहालयका रुपमा विकास गर्ने र पर्यटक आकर्षित गर्ने प्रचलन धेरै पहिलेदेखि चलिआएको बताउँदै सोही अनुसार नै आफूहरूको पहलमा महाकवि देवकोटाको घरलाई सङ्ग्रहालयको रुपमा विकास गर्न सफल भएको बताए । 

उनले अब उक्त सङ्ग्रहालयको उचित प्रचार प्रसार र आन्तरिक पर्यटन प्रवर्द्धनका लागि देवकोटा बन्धुहरूको भूमिका महत्वपूर्ण हुने बताए ।  कार्यक्रममा डा. देवकोटाले महाकवि लक्ष्मीप्रसाद देवकोटालाई दूरदर्शी, सार्वभौमिकता र मानवतावादी साहित्यकारका रुपमा चित्रण गरे । उनी मानवतावादी थिए भन्ने कुरा ‘मुनामदन’ खण्डकाव्यबाट समेत प्रष्ट हुने डा. देवकोटाले उल्लेख गरे ।

लुम्ले पोखरा देवकोटा समाज अध्यक्ष शिवभक्त देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा देवकोटा बन्धु समाज नेपालका वरिष्ठ उपाध्यक्ष लक्ष्मी नारायण देवकोटा, देवकोटा बन्धु समाज नेपालका निवर्तमान अध्यक्ष शालिकराम देवकोटा, जिल्ला कमिटीका सल्लाहकार पद्‍मपाणि देवकोटा, जिल्ला सचिव गणेश देवकोटा, सम्पर्क समाजका सचिव हरि प्रसाद देवकोटा लगायतले बोलेका थिए ।

 कार्यक्रममा भएको कविता प्रतियोगितामा सुशील देवकोटा प्रथम भएका थिए । सुस्मिता देवकोटा द्वितीय र सुवास देवकोटा तृतीय बने । प्रतियोगिताको निर्णायकमा रुद्रनाथ देवकोटा रहेका थिए । विजेतालाई नगद सहित सम्मान गरियो । कार्यक्रममा प्रतियोगी तथा अप्रतियोगी रुपमा कविहरूले महाकवि देवकोटा प्रति समर्पित कविता सुनाएका थिए।

 सोही कार्यक्रममा यमलाल देवकोटा स्मृति शैक्षिक प्रतिष्ठानले प्रकाशन गरेको शैक्षिक एवं राजनीतिक व्यक्तित्व स्व. यमलाल देवकोटाको बारेको स्मृति ग्रन्थ पुस्तक संस्थागत तथा व्यक्तिगत रुपमा वितरण गरिएको थियो । कार्यक्रममा शैक्षिक उपलब्धि हासिल गर्ने समाजमा आवद्द सदस्यका छोराछोरीलाई सम्मान समेत गरिएको थियो । कास्कीको लुम्ले गाउँ कविताको उर्वरभूमिको रुपमा समेत परिचित छ। 

महाकवि देवकोटा वि.सं. १९६६ को कात्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा जन्मिएका थिए । १० वर्षको उमेरमा कविता लेख्न सुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित हालसम्म सबैभन्दा बढी विक्री भएको पुस्तक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0