पोखरा । पुष्प व्यवसायीहरूले यसवर्ष तिहारमा कास्कीमै उत्पादन भएको फूलले ८० प्रतिशत माग धान्ने बताएका छन् । फ्लोरिकल्चर एशोसिएसन कास्कीका अध्यक्ष रामप्रसाद सुवेदीले यसवर्ष तिहारमा कास्कीका पुष्प व्यवसायी एवं कृषकहरूले उत्पादन गरेको सयपत्री मखमली लगायतका फूलले ८० प्रतिशत बजार माग धान्न सक्ने अवस्था रहेको बताएका हुन् । उनले बाँकी २० प्रतिशत माग गण्डकी प्रदेशकै तनहुँ, गोरखा, स्याङ्जा लगायतका जिल्ला र चितवन एवं धादिङबाट आयात गरिने जानकारी दिए ।
अध्यक्ष सुवेदीका अनुसार हाल फ्लोरिकल्चर एशोसिएसन कास्कीमा ४६ पुष्पव्यवसायीहरू आबद्ध छन् । यसबाहेक तिहारलाई लक्षित गरेर केही कृषकहरूले समेत फूलखेती गरिरहेका छन् । विगत केही वर्षदेखि स्थानीय स्तरमा फूलखेती बढ्न थालेपछी हाल भारतबाट फूल आयात हुनेक्रम समेत घटेको छ । अध्यक्ष सुवेदीले स्थानीय स्तरमै उत्पादन भएका फूलको प्रयोग गर्न आग्रह गर्दै यसले उपभोक्तालाई मूल्य समेत सस्तो पर्न जानुका साथै व्यवसायीहरूलाई हौसला मिल्ने बताए ।
कास्कीमा विगतका वर्षहरूमा तिहारको समयमा हुँदै आएको गोदावरी पुष्पमेला भने यसवर्ष नहुने भएको छ । तिहार छिटो भएको र गोदावरी फूलसमेत राम्ररी फूलिनसकेकोले यसपटक मेला आयोजना नगरिएको हो । मेला आयोजना गर्नेबारे कार्तिक अन्त्यसम्म छलफल गरेर टुङ्गो लाग्ने उनले बताए ।
फ्लोरिकल्चर एशोसिएसन कास्कीका पूर्व अध्यक्ष दया कुमार द्वाले पोखरा महानगरपालिकाले तोकेकै बिक्रीमूल्य अनुरूप सयपत्री फूलको बिक्री भइरहेको बताए । महानगरपालिकाले सरोकारवालाहरूसँग छलफल पश्चात सयपत्री फूल प्रति थुङ्गा २ देखि ५ रुपैयाँ र प्रतिमाला एकसयदेखि १ सय ५० सम्म निर्धारण गरेको छ । पूर्वअध्यक्ष द्वाले प्रतिकिलो ३ सयदेखि ४ सय सम्म फूलको किनबेच भइरहेको बताए । यसवर्ष फूलको किनबेच अपेक्षित मात्रामै भइरहेको उनको भनाई छ ।
तिहारको समयमा यति नै फूलको व्यापार हुन्छ भन्ने तथ्याङ्क भने एशोसिएसनसँग छैन । पोखराका रैथाने व्यवसायीहरूसँग बाहिरी जिल्लाबाट समेत फूल ल्याएर बेच्ने तथा यहाँबाट पनि फूल लगेर बिक्रीवितरण गरिने भएकाले फूलको यति नै कारोबार हुन्छ भन्ने तथ्याङ्क निकाल्न नसकिएको पूर्व अध्यक्ष द्वाले बताए । यद्यपि यसवर्ष पोखरामा साढे दुई करोड रुपैयाँ बराबरको फूलको कारोबार हुने अनुमान गरिएको छ ।
२०६२ सालमा स्थापना भएको फ्यान कास्कीले पुष्प व्यवसायीको विकास, विस्तार र प्रवर्द्धनका लागि निरन्तर रुपमा कार्य गर्दै आएको छ। यता पोखरा महानगरपालिकाले स्थानीय सयपत्री फूलको बिक्रीका लागि यसवर्ष २५ भन्दा बढि ठाउँ तोकिदिएको छ । तोकिएका स्थानहरूबाट यही कात्तिक ३,४ र ५ गते सयपत्री फूलहरू खरिद गर्न सकिने छ । हाल पोखरा महानगरपालिकाले कृषकको मनोबल उच्च बनाउनका लागि मल, बिउ, उत्पादनको बजारीकरण र समर्थनमूल्यमा समेत सहयोग गर्दै आएको छ । जसकारण यसवर्ष करिब ३ सय रोपनीमा सयपत्री फूल खेती भइरहेको छ । स्थानीय सयपत्री फूलमा पोखरा महानगरपालिका आत्मनिर्भर भइसकेकाले प्लास्टिकका फूलमालाहरू बिक्री वितरण नगर्न महानगरपालिकाले अनुरोध गरेको छ ।
