पोखरा। पोखरा महानगरपालिका वडा नं. १५ ले वडा कार्यालय भवन पुनः सञ्चालनका लागि सहयोग गर्ने व्यक्ति तथा सङ्घसंस्थालाई सम्मान गरेको छ । जेनजी आन्दोलनको क्रममा गत भदौ २४ गते आगजनी र तोडफोडका कारण खण्डहर बनेको कार्यालय भवन पुननिर्माणसँगै कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने भौतिक सामाग्रीहरू सहयोग गर्ने २७ वटा सङ्घसंस्थालाई शुक्रबार एक कार्यक्रम आयोजना गरेर सम्मान गरिएको हो ।
कार्यक्रममा बोल्दै वडाअध्यक्ष तोरण बहादुर बानियाँले पहिलाको भन्दा थप व्यवस्थित र सेवाग्राहीलाई सहज हुने गरी कार्यालय सञ्चालनमा ल्याएको बताउँदै यसमा वडावासी र सङ्घसंस्थाको महत्वपूर्ण देन रहेको बताए । आगजनी र तोडफोडबाट क्षतिग्रस्त बनेको वडा कार्यालय भवनलाई वडाको बजेटबिना वडावासी र स्थानीय सङ्घसंस्थाको सहयोगमा एक हप्ताभित्र पुरानै अवस्थामा फर्काउने बताएका थिए । सोही अनुसार सङ्घसंस्थाहरूले सहयोग गरेका कारण दशैँ अघि नै वडा कार्यालयलाई पुरानै अवस्थामा फर्काइएको थियो । दशैँ बिदाका कारण सहयोगहीरुलाई सम्मान कार्यक्रममा ढिलाई भएको अध्यक्ष बानियाँले बताएका छन् ।
गत भदौ २४ गते भएको आगजनी र तोडफोडबाट दुई तल्लाको वडाकार्यालयको माथिल्लो तल्ला प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेको थियो भने भुईतल्लाका दुईवटा कोठामा आगलागी भएको थियो । यसबाहेक तीन वटा कोठामा तोडफोड र लुटपाट भएको थियो । वडा कार्यालयका लागि आवश्यक सामाग्री स्थानीय आमा समुह, महिला समुह र विभिन्न सङ्घसंस्थाले मन खोलेर सहयोग गरेको अध्यक्ष बानियाँले बताए ।

कार्यक्रममा वडासचिव युवराज पौडेलले सहयोगी सङ्घसंस्था र सहयोग गरेको सामाग्रीहरूको विवरण प्रस्तुत गरेका थिए । वडाकार्यालयलाई नेपाल रेडक्रस सोसाइटी पोखरा १५ उपशाखा, मितेरी टोल विकास संस्था पोखरा, इम्यानुएल स्कुल, अनुग्रह समाज कल्याण संस्था, पोखरा ख्रिष्टियन समाज संस्था रपोखरा ख्रिष्टियन समाज, पोखरा, हेप्पी होम पोखरा, थ्री एन्जल नेपाल पोखरा, युनाइटेड क्लब, अमिनतारा खानेपानी उपभोक्ता समिति, नयाँगाउँ चर्च, सृजनशील बाल विकास कार्यक्रम, नेपाल सुसमाचार केन्द्रले सहयोग गरेका थिए ।
यसैगरी नयाँ आशा नेपाल, एसओएस चिल्ड्रेन भिलेज गण्डकी, समोल नेपाल, श्यामा श्यामा सत्संङ्ग राधे राधे, पोखरा कम्युनिटी सेन्टर, भविन्द्र विश्वकर्मा, महेन्द्र विश्वकर्मा, नगेन्द्र विश्वकर्मा, फ्रिन्कल इनटरनेशनल ग्रुपका गङ्गाबहादुर खड्का, भीम कुमारी गुरुङ, सङ्गम टोल विकास संस्था, विपन सौगात, ठूली मजुवा आमा समूह, लक्ष्मी टोल आमा समुह, शशि गुरूङ, शिव शक्ति टोल विकास संस्था र श्री दिव्यज्योति युवा क्लबले समेत सहयोग गरेका थिए ।
संघसंस्थाहरुले कार्यालय रंगरोगनदेखि, कम्प्युटर प्रिन्टर स्क्यानर, फर्निचर सामाग्रीहरु, च्यानल गेट, सोलार ब्याट्री, सिसिटिभी क्यामेरा, टेलिफोन सेट, भित्तेघडीसहितका सामाग्रीहरू सहयोग गरेका हुन् ।
कार्यक्रममा ठूली मजुवा आमा समूहका अध्यक्ष दुर्गा मल्ल ठकुरी, थ्री एन्जल्स नेपालका कार्यवाहक अध्यक्ष भुपेन्द्र प्रसाद आचार्य, नेपाल रेडक्रस सोसाइटी पोखरा १५ उपशाखाका कार्यवाहक सभापति गीता भण्डारी, मितेरी टोल विकास संस्थाका अध्यक्ष मोती पोखरेल लगायतले बोलेका थिए ।










