पोखरा । तमु धिँ नेपालको ४१ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । पोखरामा लेफ्टिनेन्ट ईन्द्र ध्वज गुरुङको प्रमुख आतिथ्यतामा सम्मान तथा वार्षिक प्रतिवेदन प्रस्तुतीकरणसहित शुक्रबार वार्षिक साधारणसभा कार्यक्रम सम्पन्न भएको हो । साधारणसभाको अवसरमा लेफ्टिनेन्ट ईन्द्र ध्वज गुरुङले तमु धिँ नेपालका संस्थापक अध्यक्ष एवं सल्लाहकार समिति संयोजक कर्मकुमारी गुरुङलाई सम्मान गरेका थिए।
कार्यक्रममा बोल्दै संस्थापक अध्यक्ष कर्मकुमारी गुरुङले तमु धिँ नेपाल स्थापना र यसको निरन्तरताका लागि गर्नुपरेको संघर्षका दिनहरूको स्मरण गरिन् । आफ्ना कुराहरू राख्न समेत राम्ररी नपाइने अवस्थामा पोखराको शान्तिवन बाटिकामा वि.सं. २०४२ सालमा संस्था स्थापना गरेको स्मरण गर्दै उनले तत्कालीन समयमा संस्थाका लागि जग्गादान देखि कार्यालय स्थापनाका लागि सहयोग गर्नेहरूलाई बिर्सन नहुने बताइन् ।
अधिवक्ता एवं तमु धिँ नेपालकी महासचिव जुना कुमारी गुरुङले महासचिवको प्रतिवेदन प्रस्तुत गर्दै हाल तमु धिँ नेपालले सङ्गठन विस्तारमा जोड दिएको बताइन् । तमु धिँ नेपालले कास्कीसहित पर्वत र स्याङ्जामा जिल्ला कार्यसमिति विस्तार गरेको अधिवक्ता गुरुङले उल्लेख गरिन् । यसबाहेक तमु धिँ नेपालले ल्होसार, ट्होँटे लगायत चाडपर्वहरूमा कार्यक्रम गर्ने, सरसरफाई, स्वास्थ्य शिविरलगायत विविध सामाजिक कार्यहरू गर्दै आएको बताइन् ।
कार्यक्रममा कोषाध्यक्ष गम बहादुर गुरुङले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले पोखरा ९ नयाँबजारस्थित केन्द्रिय कार्यालय रहेको स्थानमा प्रदेश, स्थानीय सरकार र विभिन्न सङ्घसंस्थाको सहयोगमा सङ्ग्रहालय, तमुपन झल्कने घर, सभाहल र ट्रस हलसमेत निर्माण गरिएको प्रतिवेदनमा उल्लेख गरे ।
तमु धिँ नेपालले आगामी दिनमा संरक्षक सदस्य थप गर्दै लैजाने, तीनै तहको सरकारबाट अधिकतम योजना ल्याउने, ट्होँटे ल्होछारजस्ता महत्वपूर्ण पर्व सञ्चालनका लागि कोष स्थापना गर्ने एवं गुरुङ सङ्ग्रहालयलाई पूर्णता दिदैँ टिकटको व्यवस्था गर्ने जनाएको छ ।
तमु धिँ नेपालका कार्यवाहक अध्यक्ष सुबेदार मेजर श्रीप्रसाद तमुको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष गिमाया गुरुङले गरेकी थिइन् । कार्यक्रममा टिका तमु, हिरा गुरुङ र जितबहादुर तमुले नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा आजिवन सदस्यलाई सम्मान समेत गरियो ।










