पोखरा । गायक आनन्दराज बज्राचार्यको  नयाँ गीत सार्वजनिक भएको छ ।  ‘एई ! एउटा कुरा सुनन’ बोलको यस गीतको रचना राजेन्द्र अधिकारी ‘अपूर्ण’ले गरेका हुन् भने  सङ्गीत सचिन सिंहले भरेका छन्  । गीतमा वाद्यवादनतर्फ मादलमा पोसन र गिटारमा सञ्जीव सुब्बाले साथ दिएका छन् । रेकर्डिङमा राजाबाबु चौधरी, मिक्सिङ तथा मास्टरिङमा चन्द्र चौधरीको योगदान छ । भोकल रेकर्डिङ बार डिजिटल स्टुडियोमा बुद्धराज बज्राचार्यको निगरानीमा सम्पन्न भएको हो भने मुख्य रेकर्डिङ कार्य काठमाडौंको स्टुडियो अकोस्टिक नेपालमा गरिएको हो ।

 गीतको भिडियो पनि आकर्षक बनाइएको छ । सिवा इन्टरटेनमेन्टको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको भिडियोमा बद्रीप्रसाद तिवारी र सङ्गीता खातीको अभिनय हेर्न पाइन्छ । हेमजास्थित सुईखेत रिभर भ्याली रिसोर्टमा छायांकन गरिएको भिडियोको  सम्पादन तथा निर्देशन नेत्र गुरुङले गरेका हुन् ।  नेत्र इन्टरटेनमेन्ट मार्फत यसको पोस्ट–प्रोडक्सन गरिएको हो ।  मिलन हकरले सिनेमाटोग्राफी, अमृत देवकोटाले लाइट हेड, मेकअपमा राजकुमार गुरुङ र पब्लिसिटी डिजाइनमा सविन गायक (स्वोपु क्रिएसन)ले सघाएका छन् ।

को हुन् त गायक बज्राचार्य

 गायक बज्राचार्यको जन्म पोखराको मोहरियाटोलमा भएको हो । बुबा प्रज्ञारत्न र मुमा चिनमाया बज्राचार्यको कान्छो सन्तान उनी बाल्यकालमा चञ्चले स्वभावका थिए । बुबा पनि सङ्गीतकार भएको कारण साङ्गीतिक क्षेत्रमा अगाडि बढ्न हौसिए । त्यतिबेला बुबासँग घरमा नै सङ्गीत सिक्ने मौका पाए । स्कुलमा हुने विभिन्न कार्यक्रममा प्रायः गीत सुनाइहाल्ने बानी भएका उनले गाउने मात्र हैन राम्रो नाच्ने समेत गर्थे।

२०५२ सालमा देउराली क्लबमा आवद्ध साथीहरू मिली देउराली ब्याण्डको स्थापना गरे पश्चात उनको औपचारिक साङ्गीतिक यात्रा सुरु भयो । उनले रेकर्ड गरेको पहिलो गीत ‘रातको सपनीमा’ हो । २०५२ मा रेकर्ड गरेको यो गीत त्यही वर्ष आएको देउराली ब्याण्डको पहिलो एल्बम ‘अन्यौल’ मा समावेश थियो । उक्त समयमा व्याण्ड स्थापना गर्ने लहडै चलेको थियो । क्लबमा आवद्ध अमृत गुरुङ, भिम पुन, रत्नमान गुरुङ, सुक गुरुङ पढाइको सिलसिलामा काठमाण्डौ हानिए। उनीहरूले उतै नेपथ्य ब्याण्डको स्थापना गरेर यात्रा अगाडि बढाए  । बाँकी रहेका सदस्यले देउराली क्लबलाई नै देउराली ब्याण्डको रुपमा स्थापित गरेका थिए ।

२०५४ सालमा व्याण्ड मार्फत दोस्रो एल्बम ‘लुकीचोरी’ बजारमा आएको थियो । २०५६ मा निकालेको ‘अथाह’ नामक एल्बमबाट समेत यो समूहको लोकप्रियता बढेको मान्न सकिन्छ । आनन्दले भने २०५९ मा सोलो एल्बम ‘सुयोग’ लाई श्रोतामाझ पस्किए। पुनः २०६३ मा आनन्दले आफ्नै पहलमा देउराली ब्याण्डको चौथो एल्बम ‘निरन्तरता’ मार्फत ब्याण्डको निरन्तरता दिएका थिए । २०६८ सालमा आफ्नो दोस्रो सोलो एल्बम ‘कन्टिन्युटि–२’ लाई बजारमा ल्याए । उनको सोलो एल्बम ‘कन्टिन्युटि–३’ समेत दर्शक श्रोतामाझ आइसकेको छ ।

आनन्द राज बज्राचार्य, शान्त बज्राचार्य, तेज के.सी., मनिराज पुन, वसन्त थापा र राजेश बुद्धाचार्य मिली देउराली ब्याण्डको स्थापना भएको थियो । अहिले भने आनन्द राज बज्राचार्य व्याण्डबाट अलग भइसकेका छन् । हाल व्याण्डलाई शान्त बज्राचार्य सहितको टिमले अगाडि बढाएको छ । 

पछिल्लो समयमा आनन्दराज भने सोलो गायनसँगै अगाडि बढ्न क्रियाशील रहेका छन् । उनले निरन्तर गीत पस्किरहेका छन् । नयाँ गीत सुनेर सल्लाह सुझाब दिनका लागि सबै संगीतप्रेमी समक्ष उनले आग्रह गरेका छन् ।

भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0