पोखरा । पोखराका कानून व्यवसायीले संविधान दिवस मनाएका छन् । शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल पापडको आयोजनामा पोखरामा वृहत मौन शान्ति र्यालीसहित संविधान दिवस मनाएको हो । नेपालको संविधान २०७२ घोषणा भएको १० वर्ष पुरा भएको अवसरमा शुक्रबार उच्च अदालत पोखराको गेटबाट सुरु गरिएको मौन र्याली मुस्ताङचोक, राष्ट्रबैङ्क चोक हुँदै सहिदचोकमा पुगेर समापन गरिएको थियो ।
सो अवसरमा बोल्दै उच्च अदालत बार एशोसिएसन पोखराका अध्यक्ष शालिकराम भट्टराईले केन्द्रिय निर्देशन अनुसार नै संविधान रक्षार्थ मौन र्याली निकालिएको बताए । सहिदहरूको त्याग र बलिदानबाट प्राप्त भएको संविधान रक्षा गर्नुपर्छ भन्ने मूलभावका साथ र्याली निकालिएको बताउँदै व्यवस्था भन्दा पनि अवस्था परिवर्तन गर्न जरुरी रहेको बताए ।
जिल्ला बार एशोसिएसन कास्कीका अध्यक्ष भगवती पहारीले जेनजी आन्दोलनपश्चात जनमानसमा संविधान खारेज हुने होकी भन्ने त्रास रहेकोले त्यस्तो हुन दिनु हुँदैन भन्नका लागि र्याली निकालिएको बताइन् । संविधान अनुसार नै फागुन २१ गते निर्वाचन गर्ने कार्यादेशसहित अन्तरिम सरकार गठन भएको बताउँदै जे पनि हुन सक्छ भन्ने डर सर्वसाधारणमा रहेकाले जुनसुकै हालतमा संविधान रक्षा गर्न खबरदारीका रुपमा र्याली निकालिएको उनको भनाई छ ।
मौन र्यालीमा जिल्ला र उच्च बार एशोसिएसनमा आबद्ध कानुनव्यवसायीका अलावा सामाजिक अभियन्ता र सञ्चारकर्मीको सहभागिता रहेको थियो । र्यालीमा सहभागी भएकाहरूले भ्रष्टाचारको अन्त्य गरियोस्, संविधानको रक्षा गरियोस्, शान्ति कायम गरियोस् लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए
